
पोखरा भ्यूज
पोखरा । नेपालीहरुको महान पर्व वडादशैं आजबाट आरम्भ भएको छ । वडादशैंको आज पहिलो दिन घटस्थापना हो । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लासका साथ बडादशैं मनाइन्छ ।
वडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समिति घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको छ ।
दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
आज घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा अर्चन गरिन्छ । यो अवधिमा विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको ठूलो घुँइचो लाग्ने गर्दछ ।





























