3Shares

काठमाडौं। देशको वर्तमान राजनीतिक अवस्था गम्भीर बन्दै गएको जनाउँदै नेपाली कांग्रेसले पार्टीभित्र एकता, अनुशासन र संगठनात्मक मजबुती कायम गर्न सबै नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई हार्दिक अपिल गरेको छ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काद्वारा जारी अपिलमा प्रतिनिधि सभा विघटनसँगै उत्पन्न अन्योल र अनिश्चितताले लोकतन्त्र तथा संविधानमाथि गम्भीर चुनौती खडा गरेको उल्लेख गरिएको छ। यही सन्दर्भमा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि निर्णायक अवसरका रूपमा लिनुपर्नेमा जोड दिइएको छ।

अपिलमा नेपाली कांग्रेसले विगतका विभिन्न सङ्कटपूर्ण कालखण्डमा परिस्थितिको सही मूल्याङ्कन गर्दै राष्ट्र र लोकतन्त्रको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्मरण गराइएको छ। लोकतन्त्र र राष्ट्रियताको प्रमुख धरोहरका रूपमा स्थापित कांग्रेसले यसपटक पनि आफ्नो ऐतिहासिक जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गरिएको छ।

निर्वाचन सम्पन्न भएपछि २०८२ सालमा हुने पार्टीको १५औँ महाधिवेशनमार्फत नीति, नेतृत्व र संगठनमा आवश्यक सुधार तथा परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित हुने भएकाले हालको निर्वाचनमा पार्टीभित्र पूर्ण एकता अपरिहार्य रहेको अपिलमा उल्लेख छ।

केन्द्रीय कार्यसमिति, भ्रातृ तथा शुभेच्छुक संस्था, प्रदेशदेखि वडा तहसम्मका सम्पूर्ण नेता–कार्यकर्ता र समर्थकहरूलाई व्यक्तिगत मतभेद, असहजता र असन्तुष्टिलाई थाती राखी पार्टी हितमा एकजुट भई अघि बढ्न आग्रह गरिएको छ।

अपिलको अन्त्यमा लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र पार्टीको उज्ज्वल भविष्य सुनिश्चित गर्न सम्पूर्ण कांग्रेसजनलाई अनुशासित, संगठित र एकताबद्ध भएर अघि बढ्न अनुरोध गरिएको छ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected