अन्नपूर्ण आधार शिविरमा रहेको पिसफुल लज आगलागीले पूर्णरूपमा नष्ट, मानविय क्षति नभएको पुष्टि
- March 26, 2026
- 225

अन्नपूर्ण,कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबिसी) मा रहेको पिसफुल लज एन्ड रेस्टुरेन्ट मा आगलागी हुँदा लज पूर्णरूपमा नष्ट भएको छ।
चैत १० गते साँझ करिब ४:३० बजेतिर खाना पकाउने ग्यास सिलिन्डर लिक भएपछि आगलागी भएको प्रारम्भिक जानकारी आएको छ। आगो सोही दिन नियन्त्रणमा आए पनि लजका स्टोर, कोठा, भान्छा र हलसहित पर्यटकका केही व्यक्तिगत सामग्री जलेर नष्ट भएका छन्।
लज सञ्चालक सुवास गुरुङका अनुसार घटनाबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागीको समयमा लजमा पर्यटकको उपस्थिति रहे पनि कुनै पनि मानविय क्षति नभएको पुष्टि भएको छ, जुन राहतको विषय मानिएको छ।
घटनापछि चैत ११ गते बिहानै छोम्रोङ पर्यटन व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सेन्चुरीयुवा क्लबका प्रतिनिधिहरू घटनास्थलमा पुगेर निरीक्षण गरिएको युवा क्लबका अध्यक्ष मिकास गुरुङले बताए । उनीहरूले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति सहानुभूति प्रकट गरेका छन्।
छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार क्षतिग्रस्त लजको यथाशीघ्र पुनर्निर्माण र पुनः सञ्चालनका लागि आर्थिक तथा भौतिक सहयोग जुटाइनेछ। साथै, स्थानीय व्यवसायीहरूलाई पनि सहयोगका लागि आह्वान गरिएको छ।

समितिले करिब दुई महिनाभित्र पुनर्निर्माण सम्पन्न गरी पुनः पर्यटकलाई सेवा दिन सक्ने लक्ष्यसहित आवश्यक कार्य अघि बढाउने निर्णय गरेको जनाएको छ।
हाल अन्नपूर्ण आधार शिविर क्षेत्रमा होटल तथा लज गरी करिब छ वटा मात्रै सञ्चालनमा रहेका छन्, जसले यस घटनाले स्थानीय पर्यटन व्यवसायमा अस्थायी प्रभाव पार्ने देखिएको छ।
तस्वीर :मिकास गुरुङको फेसबुकबाट साभार





सम्बन्धित खवर















