0Shares
धार्चे,गोरखा।  गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सी नमुना सामुदायिक होमस्टे पछिल्लो समय आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा देखिएको छ। बुधवार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) पोखराले यहाँ पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै ग्रामीण पर्यटन र महिला उद्यमशीलताको समन्वित विकासमा जोड दिएको छ।
२०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणसँगै विकसित गुप्सी होमस्टे अहिले स्थानीय अर्थतन्त्र सुदृढीकरणको एक महत्वपूर्ण आधार बनेको छ। टेवानको पहलमा सम्पन्न कार्यक्रममा स्थानीयवासी, होमस्टे सञ्चालक र पर्यटन व्यवसायीबीच अन्तरक्रिया गर्दै गन्तव्यको प्रचार–प्रसार, पर्यटन प्याकेज सार्वजनिक तथा सम्भावनाको पहिचानमा केन्द्रित छलफल गरिएको थियो।
कार्यक्रममा धार्चे गाउँपालिका–४ का वडाध्यक्ष किसान गुरुङले गुप्सी होमस्टेले ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै यहाँको मौलिक गुरुङ संस्कृति, अर्गानिक परिकार र हिमाली दृश्यावलोकन पर्यटक आकर्षणका प्रमुख आधार रहेको बताए। उनका अनुसार, पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादन र परम्परागत जीवनशैलीको संरक्षण पनि सम्भव भएको छ।
“दिगो पर्यटनका लागि समान सहभागिता” भन्ने मूल नारासहित क्रियाशील पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)का अध्यक्ष शोभा न्यौपाने पाण्डेले गण्डकी प्रदेशका सम्भावनायुक्त तर ओझेलमा परेका गन्तव्यहरूलाई उजागर गर्न संस्था निरन्तर सक्रिय रहेको बताइन्। उनले लाप्राकलाई वैकल्पिक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याउँदै पोखरा–लाप्राक पर्यटन सञ्जाल सुदृढ गर्नुपर्नेमा जोड दिइन्।
संस्थाका संस्थापक अध्यक्ष लक्की कार्की क्षत्रीले लाप्राकलाई नयाँ पर्यटन गन्तव्यका रूपमा विकास गर्दै युवालाई पर्यटनसँग जोडेर रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखिन्। उनले कृषि र पर्यटनलाई एकसाथ अघि बढाउँदै सीपमूलक तालिममार्फत स्थानीय युवालाई सक्षम बनाउनु आजको आवश्यकता भएको बताइन्।
सीप विकास केन्द्रकी सञ्चालक रामकली खड्काले गाउँमै उद्योग–व्यवसाय विस्तार गर्न सके स्थानीय अर्थतन्त्र अझ मजबुत बन्ने विश्वास व्यक्त गरिन्।
दुवै जना वक्ताले यहाँका महिला र युवालाई उद्यमशीलतामा संलग्न गराई आयआर्जनका अवसर विस्तार गर्नुपर्नेमा जोड दिदै आफु संलग्न व्यवसाय एवम् संस्थाबाट आवश्यक परेको खण्डमा निशुल्क तालिम दिने प्रतिबद्वता ब्यक्त गरेका थिए।
संघका महासचिव शोभा अधिकारी पौडेलका अनुसार पोखरा भ्रमण वर्षलाई लक्षित गर्दै आयोजित यो कार्यक्रमले पोखरालाई पर्यटन राजधानीका रूपमा स्थापित गर्नुका साथै गण्डकी प्रदेशका अन्य गन्तव्यहरूको प्रचार–प्रसारमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ।
टेवानको यो सक्रिय पहलले गुप्सी होमस्टे मात्र होइन, समग्र लाप्राक क्षेत्रलाई आन्तरिक पर्यटनको नयाँ ‘हब’ का रूपमा स्थापित गर्ने सम्भावनालाई थप बलियो बनाएको पोखरा महानगरपालिका आर्थिक महाशाखाका प्रतिनिधि बिमला ढकालको प्रतिक्रिया थियो । त्यस्तै, उपाध्यक्ष अनिता भट्टराईले यस्तो अभियानले महिला सशक्तीकरण, स्थानीय अर्थतन्त्र सुदृढीकरण र ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।
गुप्सी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष दलवीर गुरुङका अनुसार यहाँ पाहुनालाई स्थानीय उत्पादनमा आधारित अर्गानिक परिकार—कोदो, गुन्द्रुक, भट्टमास तथा सिजनअनुसारका सागसब्जी—प्राथमिकताका साथ उपलब्ध गराइन्छ। पाहुनाको चाहनाअनुसार स्थानीय कुखुरा, खसीबोका तथा परम्परागत सगुन पनि परोसिने व्यवस्था छ। हाल १३ घरमा सञ्चालित होमस्टेले एकैपटक करिब ८० जनासम्म पाहुनालाई सेवा दिन सक्ने क्षमता राखेको छ।
यहाँको एकदिने प्याकेज ८५० रुपैयाँमा उपलब्ध छ, जसमा स्वागत, चिया–खाजा, बेलुकाको खाना, बास र बिहानको नास्ता समावेश गरिएको छ। पर्यटकको सुविधाका लागि सूचना केन्द्र र कोसेली घरसमेत सञ्चालनमा ल्याइएको छ।
गुप्सी पाखाबाट गणेश, लाङटाङ, सिरङ्गी र बौद्ध हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिने भएकाले यहाँको प्राकृतिक आकर्षण थप बलियो बनेको छ। शान्त वातावरण, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीको अनुभवले आन्तरिक पर्यटकको आकर्षण दिनानुदिन बढ्दै गएको छ।
कार्यक्रम टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेको अध्यक्षता महासचिव शोभा अधिकारी पौडेलले सञ्चालन गरेकी थिइन् भने स्वागत मन्तव्य कार्यसमिति सदस्य एवम् कार्यक्रम संयोजक विष्णु गुरुङले राखेकी थिइन्।
भूकम्पपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा निर्माण गरिएको ५७३ घरसहितको एकीकृत नमुना बस्तीमा हाल १३ घरमा होमस्टे सञ्चालनमा छ। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रतिनिधि, टेवानका सचिव शान्ता तिमिल्सिना, कोषाध्यक्ष शारदा लम्साललगाएत पदाधिकारी, महिला पर्यटन व्यवसायी र सञ्चारकर्मीसहित करिब ४० सदस्यीय टोलीको सहभागिता रहेको थियो।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected