
पोखरा, जेठ १५ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गणतन्त्र दिवस २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री पाण्डेले शुभकामना सन्देश जारी गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आफ्नो जीवन उत्सर्ग गर्ने अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै विभिन्न आन्दोलनका क्रममा बेपत्ता, घाइते तथा अपाङ्गता भएका नागरिकहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरूको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको उल्लेख गर्दै जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई आत्मनिर्भर तथा समाजवादउन्मुख विकसित राष्ट्रका रूपमा अघि बढाउनु नै गणतन्त्रको वास्तविक कार्यभार भएको बताउनुभएको छ ।
मुख्यमन्त्री पाण्डेले संघीय शासन व्यवस्थाको अभ्यास भएको आठ वर्ष पूरा भएको उल्लेख गर्दै नेपालको संविधानले परिकल्पना गरेअनुसार संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, समन्वय र सहअस्तित्वमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्ने कार्य जारी रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले जनअपेक्षाअनुसार विकास, नीति, सुशासन, पारदर्शिता र जनविश्वासलाई सुदृढ बनाउँदै नागरिकले अनुभूति गर्ने गरी काम गरिरहेको दाबी गर्नुभयो । साथै गत भदौ २३ र २४ गते भएका ध्वंसात्मक घटनाबाट तत्काल परिवर्तन सम्भव नभए पनि सकारात्मक सोच, आत्मविश्वास र सामूहिक प्रयासबाट समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मुख्यमन्त्री पाण्डेले संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाइ, खानेपानी र पर्यावरणलगायत आधारभूत अधिकारको व्यवहारिक कार्यान्वयनमा गणतन्त्र दिवसले थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले “आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी” भन्ने गण्डकी प्रदेश सरकारको संकल्प पूरा गर्न सबै राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा आम जनसमुदायको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
शुभकामना सन्देशको अन्त्यमा मुख्यमन्त्री पाण्डेले यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।




























