0Shares

पोखरा, असार ३१ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन वर्ष २०२६/०२७ का डिष्ट्रिक्ट चिफ को-अर्डिनेटर, ग्लोबल मेम्बरशिप टिम (GMT) विष्णु प्रसाद ढुंगानालाई बिदाई गरिएको छ । उनलाई श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना हुने अन्तर्राष्ट्रिय ग्लोबल एक्सन टिम (GAT) सम्मेलनमा सहभागी हुन प्रस्थानअघि आइतबार पोखरामा आयोजित कार्यक्रममा सम्मानपूर्वक बिदाइ गरिएको हो ।

जुन १८ देखि २० तारिखसम्म सञ्चालन हुने उक्त सम्मेलनमा नेपालका तर्फबाट डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन वर्ष २०२६/०२७ का डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार के.सी. अर्का डिष्ट्रिक्ट चिफ को-अर्डिनेटर रामहरि सिलवाल पनि प्रतिनिधित्व गर्दै सहभागी हुने छन् ।

ढुंगानालाई पोखरामा उपलब्ध लायन्स नेतृत्वले एक कार्यक्रम बीच सफल सहभागिता तथा सुखद यात्राको शुभकामना व्यक्त गरेको थियो। सम्मेलनमा विश्वभरका लायन्स नेताहरू सदस्यता विस्तार, नेतृत्व विकास तथा सेवा कार्यक्रमका संयोजकहरूबीच अनुभव आदानप्रदान, भावी रणनीति निर्माण तथा संगठन सुदृढीकरणका विविध विषयमा व्यापक छलफल हुने जनाइएको छ।

बिदाइ कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई तथा पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले ढुंगानालाई खादा ओढाएर सम्मान गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लायन्स गतिविधि, सदस्यता विस्तारका प्रयास तथा सामाजिक सेवाका उपलब्धिहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरेका थिए।

उनीहरूले लायन्स अभियानलाई अझ प्रभावकारी, गतिशील र सदस्यमैत्री बनाउन ढुंगानाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय सम्मेलनबाट प्राप्त हुने अनुभव, ज्ञान र रणनीतिले आगामी कार्यकालमा डिष्ट्रिक्टलाई थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै मनोनीत डिष्ट्रिक्ट चिफ कोअर्डिनेटर ढुंगानाले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई उच्च प्राथमिकताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले सम्मेलनबाट प्राप्त हुने अन्तर्राष्ट्रिय अनुभव, उत्कृष्ट अभ्यास तथा नवीन रणनीतिहरूलाई नेपालमा कार्यान्वयन गरी सदस्यता वृद्धि, नेतृत्व विकास र सेवा कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने बताए।

ढुंगानाले नेपालको लायन्स आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण लायन्स परिवारप्रति आभार प्रकट गरे। साथै, सम्मेलनबाट हासिल हुने ज्ञान र अनुभवलाई संगठनको दीर्घकालीन हित तथा संस्थागत सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा उपस्थित लायन्स पदाधिकारी तथा सदस्यहरूले ढुंगानाको सफल सहभागिता, उपलब्धिमूलक भ्रमण र सुरक्षित यात्राको शुभकामना व्यक्त गरेका थिए।

लायन्स अन्तर्राष्ट्रियको ग्लोबल एक्सन टिम (GAT) अन्तर्गत सदस्यता विस्तार, नेतृत्व विकास तथा सेवा कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढाउने उद्देश्यले आयोजना गरिने यस्ता सम्मेलनहरूले विश्वभरका लायन्स नेताहरूबीच सहकार्य अभिवृद्धि, अनुभव आदानप्रदान तथा नवीन कार्ययोजनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। यस प्रकारका अन्तर्राष्ट्रिय सम्मेलनले संगठनलाई थप प्रभावकारी, उत्तरदायी र सेवामुखी बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रमको संयोजन लायन वर्ष २०२६/०२७ का एडिशनल क्याबिनेट सेक्रेटरी दामोदर आचार्यले गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected