0Shares

पोखरा, असार ३१ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले लायन वर्ष २०२६/२७ का लागि गण्डकी–धवलागिरि क्षेत्रका ५५ क्लब अध्यक्षलाई लक्षित गर्दै एकदिने नेतृत्व तथा व्यवस्थापन (स्कुलिङ) प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

पोखराको लेकसाइडस्थित होटल टेम्पल बेल बुटिक एन्ड स्पामा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा गण्डकी–धवलागिरि क्षेत्रका ५५ क्लबका नवनिर्वाचित अध्यक्षहरूको सहभागिता रहेको एडिशनल क्याबिनेट सेक्रेटरी इलेक्ट दामोदर (दामु) आचार्यले जानकारी दिए।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जुलाई १ देखि कार्यकाल सम्हाल्ने अध्यक्षहरूलाई क्लब सञ्चालन, नेतृत्व विकास, सदस्यता विस्तार, सामाजिक उत्तरदायित्व तथा सेवा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनसम्बन्धी विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

डिष्ट्रिक्ट गभर्नर इलेक्ट सूर्य केसीले अध्यक्षहरूलाई आगामी कार्यकालको जिम्मेवारी, लायन्सको नीति तथा प्राथमिकता, सेवा परियोजना सञ्चालन, संगठन व्यवस्थापन र नेतृत्व विकासका विविध पक्षबारे प्रशिक्षण दिइएको बताए। उनले प्रभावकारी नेतृत्वमार्फत क्लबहरूलाई सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन अध्यक्षहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गरे।

प्रशिक्षण कार्यक्रममा आईडी इन्डोर्सी तथा एलसीआईएफ एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद ढुङ्गाना, पीएमसीसी मनबहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू चन्द्रकुमार केसी, रामबहादुर बसेल र इन्दु लम्साल, प्रथम तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट शैलेन्द्रमोहन भट्टराई र विष्णुप्रसाद भण्डारी, डिष्ट्रिक्ट पिआरओ इन चिफ़ ऋषि गिरी, डिष्ट्रिक्ट चिफ़ काउन्सिलर महेश पाण्डे तथा मनोपरामर्शदाता विकल शेरचनले विभिन्न विषयमा सहजीकरण गरेका थिए। कार्यक्रमको सञ्चालन क्याबिनेट सेक्रेटरी इलेक्ट अनुजकुमार श्रेष्ठले गरेका थिए।

प्रशिक्षणका क्रममा डिष्ट्रिक्ट गभर्नर इलेक्ट केसीले लायन वर्ष २०२६/२७ का लागि आफ्नो कार्ययोजना प्रस्तुत गर्दै “केयरिङ बाइ शेयरिङ” (Caring by Sharing) मूल नाराअन्तर्गत ज्ञान, सीप, अनुभव र स्रोतहरूको साझेदारीमार्फत समाजमा दिगो परिवर्तन ल्याउने लक्ष्य रहेको बताए।

उनले स्वास्थ्य सेवा विस्तार, रक्तदान, महिला सशक्तीकरण, युवा तथा सीप विकास, शिक्षा प्रवर्द्धन, मधुमेह तथा क्यान्सर सचेतना अभियान, निःशुल्क स्वास्थ्य शिविर, आँखा तथा दन्त उपचार सेवाजस्ता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए।

त्यसैगरी, “मिशन १.५” अन्तर्गत सदस्यता विस्तार, नयाँ क्लब स्थापना, तालिम प्रणाली सुदृढीकरण, डिजिटल रिपोर्टिङ प्रणाली विकास, कमजोर क्लबहरूको सशक्तीकरण तथा आजीवन सदस्यता प्रवर्द्धनका कार्यक्रमलाई तीव्रता दिइने उनले बताए।

गभर्नर इलेक्ट केसीले क्लब अध्यक्षहरूलाई लायन्सको मूल भावना अनुरूप प्रभावकारी र परिणाममुखी सामाजिक सेवामा सक्रिय हुन आग्रह गर्दै नेतृत्व विकासलाई संगठनको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने बताए।

उनले सक्षम नेतृत्वले मात्र सदस्यता वृद्धि, क्लब विस्तार, प्रभावकारी बैठक सञ्चालन, गुणस्तरीय सेवा कार्यक्रम कार्यान्वयन तथा संस्थागत विकासलाई गति दिन सक्ने धारणा व्यक्त गरे।

कार्यक्रमको समापन सत्रमा सहभागी अध्यक्षहरूको तर्फबाट लायन्स क्लब अफ पोखरा आदर्शका अध्यक्ष गोविन्द चापागाईं र लायन्स क्लब अफ लमजुङ वी टुगेदरकी अध्यक्ष दिव्या मास्केले प्रशिक्षण कार्यक्रम उपयोगी, ज्ञानवर्द्धक र प्रेरणादायी रहेको प्रतिक्रिया व्यक्त गरेका थिए।

सो अवसरमा डिष्ट्रिक्ट गभर्नर इलेक्ट केसीले सबै सहभागी अध्यक्षहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रशिक्षक, फ्याकल्टी लिडर तथा कार्यक्रम व्यवस्थापनमा सहयोग पुर्‍याउने सम्पूर्ण क्याबिनेट पदाधिकारीप्रति आभार व्यक्त गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected