0Shares

पोखरा, ४ असार – पोखरामा पछिल्लो समय भइरहेका ठूला चोरीका घटनामा काठमाडौंबाट आएका समूहको संलग्नता देखिएको कास्कीका प्रहरी प्रमुख एसपी नबिन कार्कीले बताएका छन्। उनले चोरीका लागि राजधानीबाट पोखरा आउने, घटना घटाएर पुनः काठमाडौं फर्किने नयाँ प्रवृत्ति देखिएको खुलासा गरेका हुन्।

नुवारथोक टोल विकास संस्था पोखरा–७ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं. ७, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा आयोजित शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै एसपी कार्कीले यस्तो जानकारी दिएका हुन्।

स्थानीयवासीले पछिल्लो समय पोखरामा चोरीका घटना बढ्दै गएको गुनासो गरेपछि एसपी कार्कीले अनुसन्धानका क्रममा नयाँ शैलीका अपराधी समूह सक्रिय देखिएको बताए। “अहिले चोरीको तरिका नै बदलिएको छ। बाहिरबाट आउने समूहले चोरी गर्ने र फर्किने भएकाले अनुसन्धानमा पनि समय लाग्ने गरेको छ,” उनले भने।

उनले सुरक्षाको पहिलो जिम्मेवारी नागरिक स्वयंको भएको उल्लेख गर्दै समुदायलाई थप सचेत रहन आग्रह गरे। टोल–टोलमा सीसी क्यामेरा जडान, पर्याप्त सडक बत्तीको व्यवस्था र सामुदायिक निगरानीलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

एसपी कार्कीले पोखरामा एक घरबाट ५० तोला सुन चोरी भएको उदाहरण दिँदै घरमा ठूलो मात्रामा सुन तथा बहुमूल्य सामग्री नराख्न सुझाव दिए। “सुन बैंकको लकरमा राख्नु उपयुक्त हुन्छ। महिलाहरूले पनि धेरै सुनका गहना लगाएर हिँड्दा जोखिम बढ्न सक्छ,” उनले भने।

उनका अनुसार पछिल्लो समय सुनको मूल्य उच्च बिन्दुमा पुगेकाले अपराधीहरूको नजर बहुमूल्य धातुतर्फ केन्द्रित भएको छ। “सुनकै कारण ज्यानसम्म जोखिममा पर्ने अवस्था आउन सक्छ,” उनले चेतावनी दिए।

कार्यक्रममा पोखरा–७ का वडा अध्यक्ष राममोहन आचार्यले महानगरले वडाहरूलाई ‘उज्यालो वडा’ बनाउने अभियान अघि बढाएको जानकारी दिए। मुख्य चोक–चोकमा सीसी क्यामेरा जडान गर्ने योजना रहेको बताउँदै उनले चोरी नियन्त्रणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे।

“आफ्नो टोलको सुरक्षा आफ्नै हातमा पनि हुन्छ। बेला–बेलामा सामुदायिक गस्ती सञ्चालन गर्न आवश्यक छ,” उनले भने।

वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईले टोलमा नयाँ व्यक्ति आएमा निगरानी राखी आवश्यक जानकारी प्रहरीलाई दिन आग्रह गरे। शान्ति सुरक्षाका लागि प्रहरी र समुदायबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

उनले घरमा सीसी क्यामेरा, अटोमेटिक बत्ती लगायत सुरक्षा उपकरण जडान गर्न सुझाव दिए। साथै, घर छाडेर बाहिर जाँदा छिमेकीलाई जानकारी गराएर घरको निगरानी गरिदिन अनुरोध गर्नुपर्ने बताए। “धेरैले गरगहना दराजको घर्रामा राख्ने गर्छन्, जसले चोरीको जोखिम झन् बढाउँछ,” उनले सचेत गराए।

कार्यक्रममा सहभागी स्थानीयवासीले टोल–टोलमा प्रहरी गस्ती बढाउन, थप सीसी क्यामेरा र सडक बत्ती जडान गर्न, लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न तथा बिहान–साँझ महिलाहरू सुरक्षित रूपमा आवतजावत गर्न सक्ने वातावरण बनाउन माग गरेका थिए।

सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुरप्रसाद बराल तथा नुवारथोक टोल विकास समिति पोखरा–७ का अध्यक्ष दामोदर बरालले समाजमा शान्ति सुरक्षा कायम राख्न समुदाय र प्रहरी हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected