0Shares

टंकराज अधिकारी, रुकुम पूर्व । वर्षायाम सुरु भएसँगै रुकुम पूर्वका हिमाली पाटनहरू हरियाली र रङ्गीचङ्गी बुकी फूलले ढाकिन थालेका छन्। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र स्थानीय जीवनशैलीको अनुपम संगम बनेको भूमे गाउँपालिका–१ स्थित चौँरीलेक पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

स्थानीय मगर खाम भाषामा ‘चुंग्रि बुकी’ भनेर चिनिने चौँरीलेक समुद्री सतहबाट करिब चार हजार मिटरको उचाइमा अवस्थित छ। यहाँ पुग्दा खुला पाटन, चौँरीका बथान, गोठ, लेकाली फूल र वरिपरिका हिमशृङ्खलाले यात्रुको मन लोभ्याउँछन्।

वर्षायाममा विभिन्न रङका बुकी फूलले पाटन ढाकिँदा चौँरीलेकको दृश्य झनै मनमोहक देखिन्छ। टाढाबाट हेर्दा हरियो पाटनमाथि कसैले फूलको रंगीन गलैँचा बिछ्याएजस्तो अनुभूति हुन्छ। यही प्राकृतिक सौन्दर्य हेर्न र क्यामेरामा कैद गर्न पछिल्लो समय आन्तरिक पर्यटकहरू यहाँ पुग्ने क्रम बढेको स्थानीय बताउँछन्।

हालै चौँरीलेक भ्रमणमा पुगेका नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, युनियनका कोषाध्यक्ष कपिल कोइराला, व्यवसायी यज्ञराज घिमिरे, नेपाली कांग्रेस दोलखाका महासमिति सदस्य सन्तोष पाण्डे तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सचिव श्याम खतिवडाले पनि चौँरीलेकको प्राकृतिक सौन्दर्यलाई नजिकबाट अवलोकन गरेका छन्।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले चौँरीलेकको प्राकृतिक सम्भावना निकै ठूलो रहेको बताए। उनका अनुसार हिमाली भूगोल, बुकी फूल र स्थानीय जीवनशैलीलाई एकीकृत गरेर पर्यटन प्रवर्द्धन गर्न सके यो क्षेत्र राष्ट्रियस्तरकै आकर्षक गन्तव्य बन्न सक्छ।

युनियनका कोषाध्यक्ष कपिल कोइरालाले चौँरीलेकको सुन्दरता प्रत्यक्ष अनुभव गर्दा प्रचारप्रसारसँगै आधारभूत पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने बताए। पदमार्ग, खानेपानी, शौचालय, विश्रामस्थल र संकेतचिह्नजस्ता पूर्वाधारले पर्यटकको अनुभव अझ सहज बनाउन सक्ने उनको भनाइ छ।

व्यवसायी यज्ञराज घिमिरेले चौँरीलेकमा पर्यटनको सम्भावनासँगै स्थानीय उत्पादनको बजार विस्तार गर्ने अवसरसमेत रहेको बताए। स्थानीय खाना, दुग्धजन्य पदार्थ, पशुपालनसँग सम्बन्धित उत्पादन तथा अन्य स्थानीय सामग्रीलाई पर्यटनसँग जोड्न सके स्थानीयले प्रत्यक्ष आर्थिक लाभ लिन सक्ने उनको धारणा छ।

त्यस्तै, नेपाली कांग्रेस दोलखाका महासमिति सदस्य सन्तोष पाण्डेले प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेर पर्यटन विकास गर्नुपर्ने बताए। विकासका नाममा हिमाली वातावरणमा अनावश्यक संरचना निर्माण गर्नुभन्दा स्थानीय आवश्यकता र प्रकृतिको संवेदनशीलतालाई ध्यानमा राखेर योजना बनाउनुपर्ने उनको भनाइ छ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सचिव श्याम खतिवडाले चौँरीलेकको प्रचारप्रसारसँगै व्यवस्थित पर्यटन योजना आवश्यक रहेको बताए। उनका अनुसार चौँरीलेकलाई राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्न स्थानीय सरकार, प्रदेश सरकार, पर्यटन क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक छ।

चौँरीलेकको अर्को ठूलो आकर्षण यहाँबाट देखिने हिमाली दृश्य हो। मौसम खुलेको समयमा सिस्ने, पुथा, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे क्षेत्रका हिमशृङ्खला देख्न सकिने बताइन्छ।

बिहानको समयमा हिमालमाथि परेको घामको उज्यालो, पाटनमा फैलिएको कुहिरो र चौँरीका बथानको दृश्यले यात्रालाई अझ विशेष बनाउँछ। प्रकृतिसँग नजिक हुन चाहने, फोटोग्राफी गर्ने तथा पदयात्रा रुचाउनेहरूका लागि चौँरीलेक उत्कृष्ट गन्तव्य बन्न सक्छ।

यहाँको सुन्दरता फूल र हिमालमा मात्र सीमित छैन। स्थानीयको परम्परागत पशुपालन, गोठको जीवन र पाटनमा चौँरी, भेडा तथा च्याङ्ग्रा चराउने परम्पराले यस ठाउँलाई छुट्टै पहिचान दिएको छ।

पदमार्ग सुधार आवश्यक

मध्यपहाडी लोकमार्ग हुँदै पातीहाल्नासम्म मोटरबाटोबाट पुग्न सकिन्छ। त्यसपछि चौँरीलेकसम्मको यात्रा मुख्यतः पैदल गर्नुपर्छ। बाटोको अवस्था, यात्रुको गति र बीचमा गरिने विश्रामअनुसार करिब तीनदेखि पाँच घण्टासम्म लाग्न सक्छ।

मौसम सफा हुँदा केही दूरीसम्म मोटरसाइकल वा फोरह्विल गाडी जान सक्ने भए पनि वर्षायाममा बाटो हिलो र चिप्लो हुने भएकाले पैदल यात्रा सहज हुन सक्छ।

स्थानीयले प्रयोग गर्दै आएको पुरानो पैदल बाटोमा गाई–गोरु तथा अन्य पशुचौपाया हिँड्ने भएकाले कतिपय ठाउँमा हिलो र गोबरका कारण यात्रुलाई समस्या हुने गरेको छ। त्यसैले चौँरीलेकको पर्यटन विकाससँगै पदमार्ग सुधार र सिँढीबाटो निर्माण आवश्यक देखिन्छ।

विशेषगरी अप्ठ्यारो उकालोमा स्थानीय ढुंगा प्रयोग गरेर सिँढी बनाउने, पानी बग्ने ठाउँमा निकासको व्यवस्था गर्ने र आवश्यक स्थानमा विश्रामस्थल तथा संकेतचिह्न राख्ने हो भने पर्यटकलाई यात्रा गर्न सहज हुनेछ।

प्रकृति नबिगारी पूर्वाधार विकास

चौँरीलेकमा पर्यटक बढ्दै गएपछि स्थानीय सरकारले आवश्यक पूर्वाधार विकासतर्फ ध्यान दिनुपर्ने देखिन्छ। निश्चित स्थान पहिचान गरेर चिया पसल, सानो बास बस्ने ठाउँ, खानेपानी, शौचालय र विश्रामस्थल निर्माण गर्न सकिन्छ।

तर विकासका नाममा जथाभावी भवन र पसल बनाउनेभन्दा प्राकृतिक वातावरण नबिग्रने गरी योजना बनाउनु आवश्यक छ। स्थानीय उत्पादन र परम्परागत शैलीमा आधारित साना पर्यटन संरचना निर्माण गर्न सके त्यसबाट स्थानीयलाई रोजगारी र आम्दानीको अवसरसमेत मिल्न सक्छ।

अर्कोतर्फ, पर्यटक बढेसँगै फोहोर व्यवस्थापन पनि चुनौती बन्न सक्छ। विशेषगरी प्लास्टिकजन्य फोहोरले हिमाली वातावरणमा असर पार्न सक्ने भएकाले जथाभावी फोहोर फाल्न रोक लगाउने, स्थानीय नियमअनुसार प्लास्टिकजन्य सामग्रीको प्रयोग नियन्त्रण गर्ने तथा फोहोर संकलन र व्यवस्थापनको व्यवस्था गर्नुपर्ने आवश्यकता छ । पर्यटकले पनि आफूले लगेको फोहोर आफैँ फिर्ता ल्याउने बानी बसाल्नुपर्ने देखिन्छ।

स्थानीय संस्कृति र पर्यटनसँगै

चौँरीलेकमा प्राकृतिक सौन्दर्यसँगै स्थानीय संस्कृति र जीवनशैलीलाई जोडेर पर्यटन विकास गर्न सकिने सम्भावना छ। चौँरीपालन, भेडा–च्याङ्ग्रा पालन, स्थानीय खानपान, गोठको जीवन र मगर समुदायको संस्कृति पर्यटकका लागि थप आकर्षण बन्न सक्छन्।

स्थानीय युवालाई गाइड, होमस्टे, खाना, यातायात, सरसफाइ तथा अन्य पर्यटन व्यवसायमा जोड्न सके गाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ।

चौँरीलेकलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन सडक र पदमार्ग सुधारसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता छ।

बुकी फूल हेर्न जाऔँ, हिमालको दृश्यमा रमाऔँ, चौँरीलेकको सुन्दरता अनुभव गरौँ—तर फर्किंदा प्रकृतिलाई उस्तै सुन्दर छाडेर फर्किऔँ।

यही सोचका साथ अघि बढ्न सके चौँरीलेक रुकुम पूर्वको मात्र नभई नेपालको आकर्षक हिमाली पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना बोकेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected