
अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने विकास योजनालाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन उपभोक्ता समितिका पदाधिकारीका लागि अनुशिक्षण कार्यक्रम सुरु गरेको छ।
गाउँपालिकाको वडा नम्बर ५ बाट सुरु गरिएको कार्यक्रम सबै वडामा सञ्चालन गरिनेछ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले कार्यक्रमको उद्घाटन गरेका हुन्। कार्यक्रममा उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज शर्मा, वडा नम्बर ५ का अध्यक्ष जीवननाथ पौडेल, वडा सदस्य, कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी तथा सरोकारवालाको सहभागिता थियो।

कार्यक्रममा विकास निर्माणका योजनालाई व्यवस्थित, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीको भूमिका, जिम्मेवारी तथा कार्यसम्पादन प्रक्रियाबारे जानकारी गराइएको अध्यक्ष केसीले बताए। उनका अनुसार, उपभोक्ता समितिका पदाधिकारीलाई योजनाको प्रभावकारी कार्यान्वयन र व्यवस्थापनबारे व्यावहारिक जानकारी दिन कार्यक्रम सञ्चालन गरिएको हो।
अनुशिक्षणका क्रममा योजना कार्यान्वयन, प्राविधिक मापदण्डको पालना, आर्थिक कारोबारमा पारदर्शिता, खर्चको अभिलेखीकरण, आवश्यक कागजातको व्यवस्थापन तथा योजना सम्पन्न भएपछि पूरा गर्नुपर्ने प्रक्रियाबारे सहजीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज शर्माले जानकारी दिए। उनले योजनाको गुणस्तर कायम राख्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न उपभोक्ता समिति जिम्मेवार हुनुपर्ने बताए।
गाउँपालिका र उपभोक्ता समितिबीच प्रभावकारी समन्वय, सहकार्य तथा नियमित अनुगमनबाट विकास निर्माणका कामलाई थप व्यवस्थित बनाउन सकिने उपाध्यक्ष चन्द्रकला अधिकारीले बताइन्। उनले योजनाको कार्यान्वयनदेखि सम्पन्न हुँदासम्म पारदर्शिता र जवाफदेहिता कायम राख्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरिन्।
वडा नम्बर ५ का अध्यक्ष जीवननाथ पौडेलले उपभोक्ता समितिका पदाधिकारीको क्षमता अभिवृद्धि, योजनाको गुणस्तर कायम र सार्वजनिक स्रोतको उचित सदुपयोगका लागि अनुशिक्षण कार्यक्रम उपयोगी हुने बताए। उनले विकास निर्माणका काममा उपभोक्ताको सहभागितासँगै जिम्मेवारीबोध र पारदर्शिता पनि महत्त्वपूर्ण रहेको धारणा राखे।
गाउँपालिकाले स्थानीय विकास निर्माणका योजनालाई जनसहभागितामूलक, पारदर्शी, उत्तरदायी र गुणस्तरीय बनाउने उद्देश्यले उपभोक्ता समितिका पदाधिकारीको क्षमता विकास तथा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ।











