0Shares

काठमाडौं। मौसमविद्हरूले आगामी बुधबारदेखि नेपालको केही भूभागमा वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेकाले आधिकारिक सूचनामा मात्रै विश्वास गर्न आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनका अनुसार आगामी तीन दिनसम्म मौसम सामान्य रहने देखिए पनि त्यसपछि मौसममा परिवर्तन आउन सक्ने सम्भावना छ। आउँदो बुधबार (कार्तिक ११) देखि आइतबार (कार्तिक १५) सम्म देशका केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

सामाजिक सञ्जालमा सात दिनसम्म लगातार वर्षा हुने भन्दै फैलिएका खबरप्रति सचेत गराउँदै मौसमविद् महर्जनले त्यस्ता अपुष्ट सूचनाका कारण त्रसित नहुन आग्रह गरेका छन्। वर्षाको सम्भावना रहे पनि कुन स्थानमा कति मात्रामा र कति समयसम्म वर्षा हुन्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने उनले बताएका छन्।

मौसम प्रणाली परिवर्तनशील हुने भएकाले लामो अवधिको मौसम पूर्वानुमानमा फेरबदल हुन सक्ने उनको भनाइ छ। विशेषगरी वर्षासम्बन्धी हल्लाले किसानहरू चिन्तित बनेको उल्लेख गर्दै उनले अपुष्ट सूचनाको पछि नलाग्न अनुरोध गरेका छन्।

मौसमविद् महर्जनका अनुसार नेपालको सन्दर्भमा तीन दिनसम्मको मौसम पूर्वानुमान तुलनात्मक रूपमा विश्वसनीय हुने भए पनि सात दिनसम्मको पूर्वानुमानमा अनिश्चितता बढी रहन्छ।

आगामी साताको मौसमबारे थप स्पष्ट विवरण केही दिनपछि सार्वजनिक गरिने जनाउँदै उनले मौसम तथा वर्षासम्बन्धी जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको आधिकारिक सूचनालाई आधार बनाउन आग्रह गरेका छन्।

मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको सूचना नियमित रूपमा हेर्न र अपुष्ट खबरका आधारमा निष्कर्ष ननिकाल्न सबैलाई अनुरोध गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected