
तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन
अन्नपूर्ण, कास्की । श्री परशु आधारभूत विद्यालयअन्तर्गत सञ्चालित श्री परशु शैक्षिक प्रतिष्ठान (अक्षयकोष) को तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट गमबहादुर कुँवरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।
अधिवेशनबाट उपाध्यक्षमा गायत्री पराजुली, सचिवमा हरिप्रसाद भुगाई र कोषाध्यक्षमा ओमकार अधिकारी निर्वाचित भएका छन्।
त्यसैगरी, कार्यसमिति सदस्यमा कलाधर भुगाई, कृष्णबहादुर कुँवर (ए), लक्ष्मण अधिकारी, राजेन्द्र राज अधिकारी, महेन्द्रबहादुर कुँवर, केदारनाथ अधिकारी र शान्ति सुनार चयन भएका छन्।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या न्यूनीकरण गर्ने तथा शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको हो।
प्रतिष्ठानले विद्यालयको शैक्षिक विकास र संस्थागत सुदृढीकरणका लागि विद्यालयको स्मारिका प्रकाशन, पूर्वविद्यार्थी मञ्चको गठन तथा सुदृढीकरण, शैक्षिक स्तर उकास्ने कार्यक्रम र विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्ने लक्ष्य लिएको छ। साथै, विद्यालयको दीर्घकालीन शैक्षिक विकासलाई सुनिश्चित गर्न अक्षयकोषको रकम वृद्धि गर्दै एक करोड रुपैयाँ पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्यसमेत अघि सारेको छ।
विद्यालयको संरक्षण, शैक्षिक उन्नयन तथा विपन्न र जेहेन्दार विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। यसका लागि प्रतिष्ठानले सम्पूर्ण पूर्वविद्यार्थी, अभिभावक, स्थानीयवासी तथा शुभेच्छुकलाई आर्थिक सहयोग, सुझाव र सहकार्यका माध्यमबाट अभियानमा जोडिन आह्वान गरेको छ।
नवनिर्वाचित कार्यसमितिले सबै पक्षसँग सहकार्य गर्दै प्रतिष्ठानको उद्देश्य प्राप्ति, अक्षयकोष विस्तार र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।















