1Shares

पोखरा। नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनको पक्षमा उभिएका नेता तथा कार्यकर्ताहरूको समूहले कास्की जिल्ला अधिवेशन आगामी कात्तिक १५ गते आइतबार पोखरामा गर्ने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं नियमित १५औँ महाधिवेशन तयारी समितिका केन्द्रीय संयोजक डा. शशांक कोइरालाले गर्ने कार्यक्रम तय भएको छ।

शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला अधिवेशन तयारी समितिका संयोजक ऋषिराम काफ्लेले अधिवेशनको तयारीबारे जानकारी दिँदै उद्घाटन समारोहमा पार्टीका अन्य केन्द्रीय नेताहरूले समेत सम्बोधन गर्ने बताए। पोखरा महानगरपालिका–९, बाँस्तोलाथरस्थित सिल्भर प्लेट पार्टी प्यालेसमा उद्घाटन समारोह आयोजना गरिने उनले जानकारी दिए।

नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशन आगामी २०८३ साल मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने तय भएसँगै केन्द्रीय निर्देशनअनुसार देशभर पार्टीका विभिन्न तहका अधिवेशन प्रक्रिया अघि बढाइएको छ। सोही क्रममा कास्कीमा पनि गत असोज ५ गतेदेखि अधिवेशन प्रक्रिया सञ्चालन भइरहेको छ।

केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका प्राध्यापक डा. कृष्णप्रसाद गौतम र निर्वाचन समितिका प्रतिनिधि एवं नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय उपाध्यक्ष अधिवक्ता वीरेन्द्र केसीको उपस्थितिमा जिल्लाका विभिन्न तहका अधिवेशन सम्पन्न गरिएको आयोजकले जनाएको छ।

निर्वाचन समितिका अनुसार कास्कीका ७२ वडा, पाँचवटा पालिका, पाँचवटा प्रदेश निर्वाचन क्षेत्र र तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ।

सम्पन्न अधिवेशनबाट कास्की क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा आनन्द सुवेदी, क्षेत्र नं. २ मा राजेन्द्र बराल र क्षेत्र नं. ३ मा पदम बस्ताकोटी निर्वाचित भएका छन्। पोखरा महानगरपालिका समितिको सभापतिमा मिलन तिवारी निर्वाचित भएका छन्।

त्यसैगरी माछापुच्छ्रे गाउँपालिकाको सभापतिमा माधव आचार्य, अन्नपूर्ण गाउँपालिकामा भरत केसी, मादी गाउँपालिकामा खेमबहादुर जिसी र रूपा गाउँपालिकामा ढकबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।

पत्रकार भेटघाटमा वितरित विज्ञप्तिअनुसार कास्की क्षेत्र नं. १ अन्तर्गतका प्रदेश सभापतिमा इन्जिनियर परशुराम बस्नेत र इन्जिनियर अवित केसी निर्वाचित भएका छन्। क्षेत्र नं. २ अन्तर्गत सुदीप गुरुङ र अभियान कोइराला तथा क्षेत्र नं. ३ को प्रदेशसभा ‘ख’ मा दिपेन्द्र लामिछाने सभापतिमा निर्वाचित भएका छन्। क्षेत्र नं. ३ को प्रदेशसभा ‘क’ को अधिवेशन भने विशेष कारणवश स्थगित गरिएको र शनिबारसम्म सम्पन्न गर्ने तयारी रहेको जनाइएको छ।

जिल्ला अधिवेशन तयारी समितिका संयोजक काफ्लेले अधिवेशनमा सहभागी हुन क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पार्टीका विभिन्न तहका पदाधिकारी तथा शुभेच्छुकहरूलाई आह्वान गरेका छन्। पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्दै सहमति, सहकार्य र आपसी सद्भावका माध्यमबाट नियमित १५औँ महाधिवेशन सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले विशेष महाधिवेशनको नाममा काठमाडौंमा आयोजित भेलापछि पार्टी कमजोर बन्दै गएको टिप्पणी गरे। विशेष महाधिवेशनकै कारण गत निर्वाचनमा कांग्रेसका नेता तथा पार्टीले लज्जास्पद हार व्यहोर्नुपरेको उनको दाबी थियो।

नियमित १५औँ महाधिवेशन सम्पन्न भएपछि पार्टीले अघि सार्ने नयाँ एजेन्डा र नीतिगत प्राथमिकताले कांग्रेसलाई पुनः बलियो बनाउने विश्वास व्यक्त गर्दै बरालले नागरिकको विश्वास र भरोसा जित्ने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको सञ्चालन अधिवेशन तयारी समितिका सचिव सुरेन्द्रनाथ शर्माले गरेका थिए।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected