बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
क्लबले आगामी कात्तिक १८ देखि २३ गतेसम्म प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागेको हो। कार्यक्रमको अन्तिम तयारीबारे जानकारी दिन शनिबार (कात्तिक १४ गते) पोखराको टुँडिखेलस्थित एन टु कफी सपमा आयोजित पत्रकार सम्मेलनमार्फत क्लबले प्रतियोगितासम्बन्धी विवरण सार्वजनिक गरेको हो।
प्रतियोगिताको विजेता टोलीले नगद ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, प्रथम उपविजेताले ४१ हजार र द्वितीय उपविजेताले २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबले जनाएको छ।

क्लबका अध्यक्ष गौप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा भिचुक प्ल्हने पैंगीलामा कल्याण संघका पूर्वअध्यक्ष पदमबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा प्रमुख अतिथि गुरुङले क्लबले सामाजिक, खेलकुद तथा सांस्कृतिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे। उनले यस्ता गतिविधिलाई निरन्तरता दिँदै समाज र युवाको हितमा थप सक्रिय हुन आग्रह गरे।
खेलकुदमार्फत युवाबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्नुका साथै स्थानीय खेलप्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताए। वार्षिकोत्सव तथा तिहारको अवसरमा आयोजना हुने भलिबल प्रतियोगितासँगै प्रौढ भलिबल र विविध सांस्कृतिक कार्यक्रमले स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुर्याउने उनको भनाइ छ।
खुला गाउँस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुन ६ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। हालसम्म १० टोलीले नाम दर्ता गराइसकेको र दर्ताको अन्तिम मिति कात्तिक १७ गतेसम्म १८ देखि २० टोलीको सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।
उनले प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा सहभागी भई सफल बनाउन खेलप्रेमी, स्थानीयवासी, विभिन्न संघसंस्था तथा सम्पूर्ण शुभेच्छुकलाई आग्रहसमेत गरेका छन्।
पत्रकार सम्मेलनमा क्लबका सचिव विद्या परियारले प्रतियोगिताको तयारी, खेल सञ्चालन प्रक्रिया तथा भलिबल प्रतियोगितासँग सम्बन्धित विविध पक्षबारे जानकारी गराएका थिए।










