4Shares

हरि भट्टराई

पोखरा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आसन्न प्रदेशसभा, क्षेत्रीय, जिल्ला र प्रदेश अधिवेशनको रौनक बिस्तारै उत्कर्षमा पुग्दै गर्दा आकाँक्षीहरूको प्रचारशैलीबारे पोखरामा बहस शुरू भएको छ ।

प्रदेश सभा, क्षेत्रीय र जिल्ला अधिवेशनमा प्रत्यासी हुन चाहने उमेद्वारको मतदाता भेट्ने र प्रचार गर्ने अभियान तीव्र हुँदै गर्दा काँग्रेसी नेता तथा कार्यकर्ताबीच नै चुनावी प्रचारशैलीबारे बहस शुरू भएको हो ।

आफू उमेद्वार हुन चाहेको तह र पदको प्रचारसहित क्षेत्रीय प्रतिनिधिहरुसँग मत माग्ने अधिकाँश आकाँक्षीहरूका प्रचारशैली र अभ्यास दुरुस्तै उस्तै छन् । यद्यपि कुनैकुनै उमेद्वारले भने आधुनिक प्रविधिको प्रयोग गरेका छन् ।

सामान्यतः सबै आकाँक्षीले ‘पोष्टकार्ड’ जस्तै कार्ड (प्रचार–सामाग्री) छपाएर मतदाताको हातहातमा पु¥याएका छन् । मतदाताका हातहातमा पुगेका त्यस्ता सामाग्री फेसबुक, भाइवर, इमो, इन्स्ट्राग्राम, ह्वाटस्अफ, म्यासेन्जर आदिका माध्यमबाट पनि प्रचार गरी मत माग्ने गरेको देखिन्छ । त्यसो कतिपय आकाँक्षीले अत्याधुनिक प्रविधिको पनि प्रयोग गरेका छन् ।

नेपाल टेलिकमबाट सिधै मतदाताको मोवाइल फोनमा म्यासेज, वा अडियो सन्देशमार्फत् पनि आ-आफ्नो पक्षमा मत माग्ने गरेको चर्चा छ । पटकपटक आउने अडियो सन्देशमूलक फोन कलले भने धेरै क्षेत्रीय प्रतिनिधिहरू आतंकित बन्ने गरेको गुनासो पनि सुनाएका छन् ।

‘फोन आउँछ । तर रिसिभ गर्दा मान्छेले एकोहोरो आफ्नो कुरा मात्र सुनाउँछ ,’ पोखरा भ्यूजसँग कुरा गर्दै पोखरा १६ की क्षेत्रीय प्रतिनिधि विष्णु भट्टराईले भनिन्– ‘त्यसपछि फोन नै ब्लकमा राखिदिएँ ।’ उनले आकाँक्षीहरूको यस्तो प्रचारशैलीको खुलेर काँग्रेसकै म्यासेन्जर ग्रुपमा कडा प्रतिवाद गरेको बताइन् । त्यसपछि निरन्तर आइरहने त्यस्तो अडियो सन्देशयुक्त फोन कल आउन बन्द भएको उनको अनुभव छ ।

शुरूमा त्यस्तो अडियो सन्देशयुक्त फोन कल काँग्रेस नेता शेखर कोइराला र त्यसपछि गगन थापाको नामबाट सम्प्रेषण गरिएको थियो । पछिल्लो समय कास्की निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सचिवका आकाँक्षी हेमराज अधिकारीले दुरुस्तै उस्तै शैलीमा अडियो सन्देशयुक्त फोनकल मार्फत् मतदातासम्म पुग्ने अभ्यास गरेका छन् । यो समाचार तयार पार्दासम्म गण्डकी प्रदेश सभाका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पनि अडियो सन्देशयुक्त फोनकल मार्फत् केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि मत मागेको कास्की २ का क्षेत्रीय प्रतिनिधिहरूले बताएका छन् ।

कास्कीको सभापति पदका आकाँक्षी किशोरदत्त बरालले फेसबुकमार्फत् आफ्नो उमेद्वारी किन र केका लागि भन्नेबारे श्रृङ्खलाबद्ध रूपमा आफ्ना प्रतिबद्धताहरू सम्प्रेषण गर्दै आएका छन् । तथापि सभापतिका अन्य आकाँक्षीहरू अझै स्पष्ट खुलेर सामाजिक सञ्जालमार्फत् प्रस्तुत हुन सकेका छैनन् ।

सभापतिका लागि महाधिवेशन प्रतिनिधि बन्नै पर्ने पार्टी विधानले वाध्यात्मक व्यवस्था गरेको छ । ‘अहिले नै सभापतिको चाहना व्यक्त गर्दा महाधिवेशन प्रतिनिधिमै हराउने खेल हुन्छ,’ सभापतिका आकाँक्षी रहेका कास्की २ का एक क्षेत्रीय प्रतिनिधिले नाम उल्लेख नगर्ने शर्त भने, ‘महाधिवेशन प्रतिनिधिको मत परिणाम घोषणा भएकै दिन मेरो यानसहितको उमेद्वारी घोषणा हुन्छ ।’

पार्टीको आन्तरिक चुनावमा गरिएका यस्ता प्रचारशैलीबारे स्वयं काँग्रेसजनबीच नै बहस चल्ने गरेको छ । आम निर्वाचन वा स्थानीय निर्वाचनमा जस्तो बहुपार्टीले भाग लिएझैं गरी चुनावी प्रचार देखिएको केहीको टिप्पणी छ । कसैकसैले सामान्य नै मानेको अवस्था छ । यद्यपि काँगेसभित्रकै केही प्राज्ञिक र बौद्धिकवर्गले पार्टीको आन्तरिक चुनावको प्रचारशैली भड्किलो बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । त्यसो त क्षेत्रीय प्रतिनिधसँग मत माग्न जाँदा प्रचारसामाग्रीबारे जिज्ञासा राख्ने गरेको आकाँक्षीहरूको भनाई छ ।

‘साथीहरूलाई भेटेर मत माग्दा तपाईँको कार्ड छैन भनेर सोध्नु हुन्छ,’ महिलातर्फकी प्रदेश अधिवेशन प्रतिनिधिकी आकाँक्षी लालीमाया शर्माले भनिन्–‘अन्य उमेद्वारले कार्ड छपाएर बाँडेपछि मैले पनि त्यसै गरेकी छु ।’

लालीमाया मात्र होइन प्रचार कार्ड नछाप्ने मनस्थितिमा रहेका महाधिवेशन प्रतिनिधिका आकाँक्षी नेता गुरु बरालले प्रचार कार्ड छाप्ने निर्णय गरेको सुनाए । पोखरा १६ ले गत विहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भेटिएका उनले भने–‘कार्ड नछाप्दा पनि समस्या हुँदो रहेछ । त्यही भएर म पनि छाप्ने निष्कर्षमा पुगें ।’

लोक तथा दोहोरी गायक समेत रहेको प्रदेश अधिवेशन प्रतिनिधिका आकाँक्षी चोलेन्द्र पौडेलले कुनै पनि प्रचारसामाग्री नछाप्ने बताए । ‘मैले अघिल्ला महाधिवेशनदेखि नै त्यसको विरोध गर्दै आएको छु,’ उनले भने,–‘पार्टीको आन्तरिक चुनावमा यस्तो भड्किलो शैली निरुत्साहित गर्नुपर्छ ।’उनले पार्टीको आन्तरिक चुनाव एमालेको जस्तो हुनुपर्ने सुझाउ पनि दिए ।

‘भर्खर एमालेको वडा तथा पालिका तहको अधिवेशन सम्पन्न भएको छ,’ गायक पौडेलले भने,–‘कुनै हल्लाखल्ला नभई एक्कासी बधाई आयो, राम्रो कुराको अनुशरण गर्नुपर्छ ।’ यद्यपि कास्की केही स्थापित नेताहरूले भने प्रचार कार्ड छपाएका छैनन् । अर्कोतर्फ कास्की काँग्रेसभित्र चरम गुटबन्दी छ । गुटमा पर्ने नपर्ने वा गुटले उठाउने पद सुनिश्चित नहुँदा पनि कतिपय आकाँक्षीहरूले खुलेर प्रचार गर्न पाएका छैनन् ।

निर्वाचन समितिको कार्यतालिका अनुसार मंसिर ३ मा प्रदेशसभा, ६ गते क्षेत्रीय र १० गते जिल्ला अधिवेशन हुनेछ भने मंसिर १६ र १७ गते सातै प्रदेशको प्रदेश अधिवेशन मिति तय गरिएको छ । केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २९ सम्म काठमाडौंमा हुनेछ ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected