3Shares

पोखरा । पोखरा महानगरपालिकाले वडा नं.९ महेन्द्रपुल स्थित आफ्नो स्वामित्वमा रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय लगायतका सटरहरूमा डोजर चलाएको छ । भवन तथा सटरहरूमा व्यवसाय सञ्चालन गरिरहेका संस्था तथा व्यवसायीहरूलाई खालि गर्नका लागि ३५ दिने सूचना दिएर महानगरपालिकाले ३६ औँ दिनमा डोजर चलाएको हो ।

अधिकांश व्यवसायीहरूले सटर छोडिसकेका थिए भने आर्ट ग्यालरी र पुस्तकालयको व्यवस्थापन महानगरपालिका आफैले गर्ने प्रमुख धनराज आचार्यले बताए । “पोखरा आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वी चोकमा बन्ने पोखरा भवनमा व्यवस्थापन गरिनेछ, प्रमुख आचार्यले भने, ‘त्यसको भुईँ तलामा सुचना केन्द्र हुन्छ, बिचको तलामा पुस्तकालय हुन्छ, त्यो भन्दा माथि आर्ट ग्यालरी हुन्छ र त्यो भन्दा माथि घण्टाघर हुन्छ । यस हिसाबले त्यो भवन नबन्दासम्म पुस्तकालय र आर्ट ग्यालरीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।” अरू सबै संरचनाहरू त्यहाँबाट हट्ने प्रमुख आचार्यले जानकारी दिए ।

उक्त स्थानमा पार्किङ र सुन्दर बगैँचा सहितको खुला स्थान निमार्ण गरिने प्रमुख आचार्यले बताए । “हरेक वडामा एउटा एउटा खुला ठाउँ निर्माण गर्नुपर्छ भनेर हामीले अभियान सुरु गरेका छौँ, त्यही अनुसार नै आफ्नै स्वामित्वमा रहेको भवनबाट सुरु गरिएको छ, प्रमुख आचार्यले भने, हामीले नदिको किनारमा संरचना बनाउन नदिने भनेर भनिरहेका छौँ, तर हामी आफैले बनाएका संरचनाहरू एकदमै खतरामा छ, यो जीर्ण पनि छ, सानो भूकम्प आउने बित्तिकै पनि ठुलो दुर्घटना हुनेवाला छ, त्यस कारण दुर्घटना पनि नहोस् र खुला ठाँउपनि होस् भनेर अहिले हामीले काम सुरु गरेका हौँ ।” वर्षौँदेखि महानगरपालिकाको सटरमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई १ वर्षको भाडा समेत छुट दिएर बाँकी बुझाउन पटक पटक ताकेता गरे पनि अटेर गरेको आचार्यले बताए । सटर हटाए पनि उठ्न बाँकी रकम नियमानुसार असुल उपर गरिने प्रमुख आचार्यले जानकारी दिए ।

ति सटरहरुबाट रु.१ करोड ८७ लाख बढि भाडा असुल उपर गर्न बाँकी छ । महानगरपालिकाले ताकेता गरेपछि केही व्यवसायीहरुले रु.९ लाख ९२ हजार मात्र राजश्व बुझाएका छन् ।

पोखरा महानगरपालिका भित्र गैर कानुनी रूपमा बनेका सबै संरचनाहरू हटाउने अभियानको सुरुवात वडा नं. ९ बाट गरिएको वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । “गैर कानुनी रूपमा बनेका संरचनाहरू हटाउन महानगर आफैले आफ्नो स्वामित्वमा रहेको भवनबाट सुरु गरेको छ, अव यो अभियान पोखरा भरि लागु हुन्छ र हटाइन्छ, मर्सानीले भने, जो अवैध रूपमा निर्माण गरिएको छ, त्यो रहन्न, भत्कन्छ ।” महेन्द्रपुल चोकमा रहेको क्षेत्रीय हुलाकको कम्पाउन्ड समेत भत्काइने उनले बताए ।

महेन्द्रपुलमा खालि गर्न लागिएको कि.न ८२ को ४७८.१८ वर्गमिटर क्षेत्रफलमा पार्किङ सहितको बगैँचा निर्माण गरिने छ । २०५६ सालमा स्थापना भएको पोखराको एक मात्र आर्ट ग्यालरी पुरानो र जीर्ण अवस्थामा थियो । गणेश शेरचनको पालामा बनेको एउटा भवन तथा त्रमश २०३९ र २०४२ सालमा थपिएका ति भवन तथा सटरहरु महेन्द्रपुलको सौन्दर्यीकरणमा समेत बाधक बनेका थिए ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected