काठमाडौंको गैह्रीगाउँमा ४ जनाको हत्या, एक पक्राउ

पोखरा भ्यूज
३० भदौ, काठमाडौं । शुक्रबार राति काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँस्थित दिव्य समिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राईको हत्या भएको हो । हत्या गरिएका ४ जना सोही मिलमा काम गर्थे । उनीहरुको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट समेत छ ।
हत्या हुनेमा एकै परिवारका ३ जना छन् । मध्यरातमा भएको घटनाबारे थप अनुसन्धान भएको प्रहरीले बताएको छ । प्रहरीले घटनास्थलबाट सोधपुछको लागि भन्दै काठमाडौं महानगरपालिका- ३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।