27Shares

पोखरा भ्यूज
पोखरा । राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्र्याएको भन्दै पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आले मगरले सम्मान गरेका हुन् । पौडेललाई २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
कार्यक्रममा मन्त्री आलेले गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विगतमा कोभिड लगायतका कारण पर्यटन क्षेत्र प्रभावित बनेपनि अब त्यसको प्रभाव घट्दै गएकोले पर्यटन प्रवद्र्धनका गतिविधि अघि बढाउनुपर्ने बताए । पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताउँदै मन्त्री आलेले पर्यटनबाट समृद्धि हासिल गर्न सकिने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटनका माध्यमबाट गण्डकी प्रदेशलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन सकिने बताउँदै सरकारको बजेटमा पर्यटन प्रवद्र्धन र विकासमा जोड दिनुपर्ने बताए । पोखरा-मुग्लिन सडक निर्माणको ढिलासुस्तीले पोखराको पर्यटनलाई प्रभावित बनाएको बताउँदै यसलाई यथासीघ्र सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले सवारी यातायातमा इम्बोष्ड नं राख्ने नाममा पर्यटक यातायातको पहिचान नै हराउने होकी भन्ने चिन्ता बढाएको बताउँदै पहिचान कायम हुनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष बेदराज बास्तोलाले पर्यटक यातायात व्यवसाय जोखिमयुक्त व्यवसाय भएको बताउँदै अव्यवस्थित सडक, बैंकको बढ्दो ब्याजदर लगायतका कारण व्यवसाय नै समस्यामा गुज्रीरहेको बताए । पर्यटक सवारीसाधनलाई पहिचान खुल्ने गरी इम्बोष्ड नम्बर सुनिश्चित गरिनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बोबरजंग गुरुङ, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् सल्लाहकार सोमबहादुर थापा, पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई लगायतले सरकारको पर्यटनमैत्री नीति आवश्यक भएकोमा जोड दिए । उक्त अवसरमा संघका सल्लाहकार गणेशबहादुर सापकोटा, सवारी चालकद्वय राजकुमार परियार र सूर्यर्यबहादुर विश्वकर्मालाई पनि सम्मान गरिएको थियो ।
संघका अध्यक्ष बाबुराम पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक दुर्गादत्त दाहाल र सञ्चालन विकास कंडेलले गरेका थिए ।
अधिवेशनले दुर्गादत्त दहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा बाबुराम पाण्डे, प्रथम उपाध्यक्षमा रविप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा सूर्यबहादुर घले, महासचिवमा विकासप्रसाद कंडेल, सचिवमा श्यामप्रसाद लामिछाने, कोषाध्यक्षमा शोभाखर तिवारी र सह कोषाध्यक्षमा भुवानीप्रसाद अधिकारी रहेका छन् । समितिका सदस्यहरूमा संगीता अधिकारी, सुमन कुँवर, आनन्दराज अधिकारी रहेका छन् भने दुई जना सदस्य पछि मनोनयन गरिने समितिले जनाएको छ ।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected