
पोखरा। गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्षमा बागलुङका नरेश कँडेल सर्वसम्मत चयन भएका छन् । चैत २० गते हुने नवौं गण्डकी प्रदेशस्तरीय सभा तथा तेस्रो अधिवेशनका लागि चैत १५ गते मनोनयन दर्ता भएको थियो।
अध्यक्ष पदका लागि प्रारम्भमा बागलुङका कँडेल र स्याङ्जा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज सुवेदीले उम्मेदवारी दिएका थिए। तर सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि कँडेल निर्विरोध चयन भएका हुन् । उनिसँगै सिंगो कार्यसमिति नै सर्वसम्मत बनेको निर्वाचन समितिले जनाएको छ। नवनिर्वाचित पदाधिकारीहरूले चैत २० गते आयोजना हुने अधिवेशनमा प्रमाणपत्र प्राप्त गर्नेछन्।
अधिवेशनमा जिल्ला/नगर उद्योग वाणिज्य संघका २५, एसोसियट सदस्य १०२ र वस्तुगत संघका १७ गरी कुल १४४ प्रतिनिधि सहभागी छन्।
नवनिर्वाचित कार्यसमितिमा जिल्ला–नगर उपाध्यक्षमा योगेन्द्र घिमिरे, एसोसियट उपाध्यक्षमा सूर्यबहादुर भुजेल, वस्तुगत उपाध्यक्षमा हरिकुमार श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र ओझा सर्वसम्मत चयन भए । साथै, नौ जना सदस्य निर्विरोध चयन भएका छन् भने थप तीन सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ।
कँडेल यसअघि बागलुङ उद्योग वाणिज्य संघ तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका निवर्तमान अध्यक्षसमेत रहेका थिए भने उनि सिल्भर पार्टी प्यालेसका सञ्चालक पनि हुन् ।
नवनिर्वाचित अध्यक्ष कँडेलले गण्डकी प्रदेशमा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रको सुदृढीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, वस्तुगत र एसोसियट संस्थाहरूको क्षमता विकासमार्फत आर्थिक गतिविधि विस्तार गर्ने योजना समेत अघि सारेका छन् ।





सम्बन्धित खवर















