
पोखरा । नयाँ वर्षको अवसर पारेर ढिकुरपोखरी समाज एवं अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ।

समाज तथा सहकारीका अध्यक्षद्वय लक्ष्मी अधिकारी र इन्द्रप्रसाद पौडेलको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रममा अन्नपूर्ण गाउँपालिका, कास्कीका अध्यक्ष विष्णु बहादुर केसी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा स्थानीय समाज, सहकारीका सक्रिय सदस्य, सामाजिक संघसंस्था तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि केसीले नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दै समाजमा सकारात्मक सोच र सहकार्यको आवश्यकता औंल्याए। उनले भित्ते पात्रो केवल मिति हेर्ने माध्यम मात्र नभई स्थानीय कला, संस्कृति र सामाजिक सन्देश प्रवाह गर्ने महत्वपूर्ण साधन भएको बताए।
विमोचित भित्ते पात्रोमा स्थानीय परम्परा, धार्मिक स्थल, प्राकृतिक सम्पदा तथा प्रेरणादायी सन्देशहरू समेटिएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रममा पालिकाका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, पूर्व जिल्ला विकास समिति सभापति पुण्यप्रसाद पौडेल, समाजका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, सल्लाहकार कुलबहादुर गुरुङ लगायत पूर्व अध्यक्षहरूले यस्ता प्रकाशनहरूले समुदायलाई एकताबद्ध बनाउन सहयोग पुर्याउने धारणा राखेका थिए।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ वर्षलाई नयाँ संकल्प र सकारात्मक ऊर्जाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।
समाजका सचिव गणेशप्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष लोकनाथ भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमका अवसरमा भित्ते पात्रो उत्कृष्ट रूपमा सम्पादन तथा प्रकाशन गर्ने टोलीलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो।





सम्बन्धित खवर














