‘केयरिङ बाई शेयरिङ’को मूलमन्त्रसहित लायन्स ३२५ आई नेपालको नयाँ नेतृत्व सार्वजनिक

पोखरा। लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै लायन वर्ष २०२६/२७ को संगठनात्मक संरचनाले पूर्णता पाएको छ। समाजसेवामूलक गतिविधिलाई अझ सशक्त बनाउने लक्ष्यसहित “केयरिङ बाई शेयरिङ” (Caring by Sharing) को मूल नारालाई अघि सार्दै लायन वर्ष २०२६/२७ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर सुर्यकुमार के. सी. ले आफ्नो विस्तृत कार्ययोजना सार्वजनिक गरेका छन्।

गभर्नर के. सी. ले बिहीबार काठमाडौं र शनिबार पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा क्याबिनेट अफिसर्स घोषणा गर्दै आगामी कार्यकालका प्राथमिकता, रणनीति र संगठन विस्तारका योजना सार्वजनिक गरेका हुन्। यससँगै लायन्सको नयाँ कार्यकाललाई औपचारिक रूपमा गति दिइएको छ।

यसअघि चैत ७ गते सम्पन्न निर्वाचनबाट डिष्ट्रिक्ट गभर्नरमा सुर्यकुमार के. सी., प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा शैलेन्द्र मोहन भट्टराई र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा विष्णु प्रसाद भण्डारी सर्वसम्मत रूपमा निर्वाचित भएका थिए। निर्वाचित भएसँगै गभर्नर के. सी. ले आफ्नो कार्यसम्पादनलाई प्रभावकारी बनाउन विभिन्न जिम्मेवारीमा अनुभवी तथा सक्रिय लायन्स सदस्यहरूलाई मनोनयन गरेका छन्।
डिष्ट्रिक्टको प्रमुख प्रशासनिक तथा रणनीतिक पदहरूमा अनुज कुमार श्रेष्ठ (क्याबिनेट सेक्रेटरी), शिवबहादुर काफ्ले (ट्रेजरर), ऋषि गिरी (चिफ एडभाइजर), महेश पाण्डे (पीआरओ इन चिफ), जनार्दन फुयाल र महेन्द्रकुमार राठी (एक्जिक्युटिभ एडभाइजर) लगायतलाई जिम्मेवारी दिइएको छ। त्यसैगरी अमृत शोभा खत्री, शान्ता देवी थापा भण्डारी, सूर्य नारायण बराललाई (एसिस्टेन्स चिफ़ एडभाइजरमा)मा, हरिराज पन्त (चिफ काउन्सिलर) शिवराम गौतम, अमृत प्रसाद तिवारी युवराज खनाल (डिष्ट्रिक्ट चिफ एडमिनिस्ट्रेटर) मनोनित भएका छन्।
यसै गरी, डिष्ट्रिक्ट चिफ को-अर्डिनेटरमा बसुधा पराजुली भट्टराई, भोला थापा, बिकास थापा, बिना थापा, बिनय अग्रवाल,बिन्दु घिमिरे, बिष्णु प्रसाद ढुंगाना, गोपाल प्रधान, मेनका लामा,नारायण बहादुर क्षेत्री, पवित्र राज तिवारी, पदमलाल सापकोटा,पंकज जलान, पवन कुमार थापा, प्रेम प्रसाद दाहाल, राजु चालिसे, राम बहादुर श्रेष्ठ, रामहरि सिलवाल, संजीव क्षेत्री पराजुली,सन्तोष कुमार श्रेष्ठ, सरोज बिष्ट, शिव बहादुर खड्का,सुरेन्द्रमान सिंह भण्डारी, तेज नारायण श्रेष्ठ, तिर्थ कुमार सिंह लगायतलाई मनोनयन गरेका थिए ।
शनिबार आयोजित विशेष कार्यक्रममा गभर्नर के. सी. ले बाँकी संरचनागत पदहरू—डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर, डिष्ट्रिक्ट चिफ, काउन्सिलर, एक्जिक्युटिभ को–अर्डिनेटर, रिजन तथा जोन चेयरपर्सन—समेत बिधानअनुसार पूर्ति गर्दै जिम्मेवारी बाँडफाँड गरेका छन्। कार्यक्रममा सहभागी पदाधिकारीहरूले आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता जनाएका थिए।
गभर्नर के. सी. ले “केयरिङ बाई शेयरिङ” नाराको मर्म स्पष्ट पार्दै ज्ञान, सीप, अनुभव र स्रोतहरूको साझेदारीमार्फत समाजमा दिगो परिवर्तन ल्याउने लक्ष्य लिइएको बताए। उनका अनुसार आगामी कार्यकालमा स्वास्थ्य, शिक्षा, युवा विकास र महिला सशक्तीकरण मुख्य प्राथमिकतामा रहनेछन्।
विशेषगरी, मधुमेह तथा क्यान्सर सचेतना अभियान, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, आँखा तथा दन्त उपचार सेवा विस्तार, सीपमूलक तालिम तथा शैक्षिक सहयोग कार्यक्रमलाई व्यापक बनाइने योजना छ।
यससँगै “मिशन १.५” अन्तर्गत सदस्यता विस्तार, नयाँ क्लब स्थापना, तालिम प्रणाली सुदृढीकरण, डिजिटल रिपोर्टिङ प्रणाली विकास, कमजोर क्लबहरूको पुनर्जीवन तथा आजीवन सदस्यता प्रवर्द्धनजस्ता योजनाहरू पनि अघि सारिएका छन्। काठमाडौं र पोखरामा स्थायी सचिवालय स्थापना तथा आपतकालीन कोष निर्माण गर्ने महत्वाकांक्षी योजना समेत सार्वजनिक गरिएको छ।
कार्यक्रममा सहभागी पूर्व डिष्ट्रिक्ट गभर्नरहरूले नयाँ नेतृत्वलाई पूर्ण साथ र सहयोग गर्न सबै लायन्स सदस्यहरूलाई आग्रह गर्दै आगामी कार्यकाललाई अझ उपलब्धिमूलक बनाउन आह्वान गरे। उनीहरूले लायन्सले समाजमा गरेका योगदानहरू अझ प्रभावकारी रूपमा सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याए।
उनीहरूको भनाइमा, डिष्ट्रिक्ट ३२५ आई नेपाल स्थापना पश्चात् निरन्तर रूपमा उत्कृष्ट उपलब्धि हासिल गर्दै आएको छ र विश्वस्तरमै पहिचान बनाउन सफल भएको छ। अबको कार्यकालमा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी सेवा गतिविधिमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।
गभर्नर के. सी. ले “पद सानो वा ठूलो होइन, जिम्मेवारी महत्वपूर्ण हो” भन्दै सबै पदाधिकारीलाई आफ्नो भूमिका उत्कृष्ट ढंगले निर्वाह गर्न आग्रह गरे। साथै, लायन्सका गतिविधिहरू समाजले स्पष्ट रूपमा महसुस गर्न सक्ने गरी प्रभावकारी र परिणाममुखी बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका थिए ।




















