
पोखरा। कास्कीको हेम्जामा जारी आलु महोत्सवमा दर्शक सहभागिता बढ्दै गएको छ। शुक्रबारदेखि सुरु भएको महोत्सवको दोस्रो दिन शनिबार बिदा परेको र मौसम अनुकूल रहेकाले दर्शकको भीड उल्लेख्य रूपमा बढेको आयोजकले जनाएको छ।

आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार शनिबार मात्रै करिब ८ हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन्। महोत्सव परिसरमा आलुको कारोबार, कृषि स्टल तथा अन्य व्यावसायिक स्टलहरूमा समेत राम्रो आर्थिक गतिविधि भएको उनले जानकारी दिए।

महोत्सवमा पुगेका अधिकांश दर्शकले कृषि स्टलतर्फ विशेष चासो देखाएका छन्। प्रवेशसँगै कृषि उपज, बीउबिजन र विभिन्न सामग्री अवलोकन गर्न पाइने भएकाले पनि दर्शकको आकर्षण बढेको हो।
आलु महोत्सव भएकाले आलु सम्बन्धी ज्ञान लिन आउनेको संख्या पनि उल्लेख्य रहेको छ। कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक सहायक बालकृष्ण भट्टराईका अनुसार महोत्सवमा २५ प्रजातिका आलु र ३७ प्रकारका अन्य तरकारीका बीउबिजन प्रदर्शनीमा राखिएका छन्।
महोत्सव अन्तर्गत शनिबार विभिन्न कलाकारहरूको सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो, जसले दर्शकलाई थप मनोरञ्जन दिएको छ। आइतबार पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सवमा आलु तथा तरकारी प्रदर्शनी, आलुको पहाड निर्माण, परिकार प्रदर्शनी, कृषकका लागि माटो परीक्षण, रोग निदान, कृषि सम्बन्धी सांस्कृतिक कार्यक्रम लगायतका गतिविधि सञ्चालन भइरहेका छन्। साथै कृषि झाँकी प्रतियोगिता, दैनिक सांगीतिक प्रस्तुति र कृषि औजार तथा उत्पादन प्रदर्शनी पनि महोत्सवका मुख्य आकर्षणका रूपमा रहेका छन्।
महोत्सवमा आलु परिकारका एक स्टल, ३० वटा कृषि स्टल र अन्य सयभन्दा बढी व्यावसायिक स्टल रहेका छन्। आलुको मूल्य प्रतिकेजी ३५ रुपैयाँ तोकिएको छ।
समग्रमा, हेम्जाको आलु महोत्सवले कृषि प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजारीकरण र मनोरञ्जनलाई एकसाथ जोड्दै दर्शकको मन जित्न सफल हुँदै गएको देखिन्छ।





सम्बन्धित खवर














