३५–३६ वर्षपछि अन्नपूर्ण–१ मा अखण्ड हरिकृतन भजन

कृष्णभक्तिको गुञ्जनसँगै शान्ति, सद्भाव र समृद्धिको कामना
अन्नपूर्ण-१, कास्की — करिब तीन दशकभन्दा लामो समयपछि अन्नपूर्ण गाउँपालिका–१ मा ऐतिहासिक अखण्ड हरिकृतन भजन कार्यक्रम आयोजना हुने भएको छ। करिब ३५–३६ वर्षपछि हुन लागेको यस धार्मिक कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न गाउँवासी, टोलवासी तथा भक्तजनहरू उत्साहपूर्वक जुटेका छन्।
धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक संरक्षणलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको अखण्ड हरिकृतन भजनमा दिन–रात निरन्तर भगवान् श्रीकृष्णको नामस्मरण, भजन–कीर्तन तथा धार्मिक अनुष्ठान गरिने आयोजकले जनाएका छन्।
“राधे राधे श्याम, राधे राधे श्याम,
गोविन्द बोलो हरि गोपाल बोलो”
जस्ता कृष्णभजनको गुञ्जनसँगै भक्तजनहरू सामूहिक रूपमा हरिनाम संकीर्तनमा सहभागी हुनेछन्।
त्यस्तै,
“हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे,
हरे राम हरे राम, राम राम हरे हरे”
भन्दै भक्तजनहरूले सामूहिक नामस्मरण गर्ने कार्यक्रमसमेत रहनेछ। भजन–कीर्तनमार्फत मनमा शान्ति, समाजमा सद्भाव र सकारात्मक ऊर्जा फैलाउने उद्देश्य रहेको आयोजक समितिले जनाएको छ।
चर्चित भजन गायकसहित स्थानीय प्रतिभाको प्रस्तुति
कार्यक्रम मूल आयोजक समिति संयोजक राजेन्द्र अधिकारीका अनुसार चर्चित कार्यक्रम ‘इन्द्रेणी’का लोकप्रिय भजन गायक श्रीराम अधिकारी लगायत अन्य कलाकारहरूको विशेष भजन प्रस्तुति रहनेछ। स्थानीय कलाकार तथा भक्तजनहरूले समेत विभिन्न कृष्णभजन तथा धार्मिक गीत प्रस्तुत गर्नेछन्।
“हे कृष्ण गोविन्द हरे मुरारी,
हे नाथ नारायण वासुदेवा”
जस्ता भक्तिमय भजनले कार्यक्रमस्थललाई आध्यात्मिक वातावरणले भरिपूर्ण बनाउने अपेक्षा गरिएको छ।
बालबालिकालाई राधा–कृष्णको स्वरूपमा सहभागी गराइने
कार्यक्रममा बालबालिकाको सहभागितालाई समेत विशेष महत्व दिइएको छ। बालबालिकालाई राधा–कृष्णको आकर्षक पोसाकमा सजाएर कार्यक्रममा सहभागी गराउन इच्छुक अभिभावकलाई आयोजक समितिले आह्वान गरेको छ।
नयाँ पुस्तालाई धार्मिक तथा सांस्कृतिक परम्परासँग जोड्दै मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले यस्तो सहभागिताको व्यवस्था गरिएको संयोजक अधिकारीले बताए ।
करिब १ लाख ५० हजार खर्च अनुमान, ४० प्रतिशत रकम संकलन
कार्यक्रम सम्पन्न गर्न करिब रु. १ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ। प्रारम्भिक भेलाबाटै अनुमानित खर्चको करिब ४० प्रतिशत रकम स्वतःस्फूर्त रूपमा संकलन भइसकेको कार्यक्रमका कोषाध्यक्ष खेम प्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रम सफल बनाउन गाउँका विभिन्न टोल तथा घरपरिवारबाट स्वस्फूर्त रूपमा सहयोग प्राप्त भइरहेको उनले बताए ।
‘यो सबैको साझा धार्मिक उत्सव हो’
कार्यक्रमका लागि विभिन्न चरणमा बैठक तथा भेला आयोजना गरी आवश्यक निर्णय गर्नुका साथै जिम्मेवारी बाँडफाँट गरिएको सचिव कलाधर भुगाईले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम कुनै व्यक्ति वा परिवार विशेषको नभई सम्पूर्ण गाउँवासीको साझा धार्मिक तथा सामाजिक कार्यक्रम भएकाले सबैको साथ र सहभागिता आवश्यक छ।
आयोजक समितिले सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आमाबुवा, युवा तथा ज्येष्ठ नागरिकलाई आफ्नो क्षमता र इच्छाअनुसार आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्न आग्रह गरेको छ।
देशमा शान्ति र सुख–समृद्धिको प्रार्थना
देशमा देखिएको दुःखद तथा संकटपूर्ण परिस्थितिबाट सबैलाई मुक्ति मिलोस्, देशमा शान्ति, सद्भाव र स्थायित्व कायम होस् तथा सम्पूर्ण नागरिकको सुख–समृद्धि होस् भन्ने कामनासहित अखण्ड हरिकृतन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
भगवान् श्रीकृष्णको उपदेशमा रहेको धर्म, सत्य, कर्तव्य र मानव कल्याणको सन्देशलाई आत्मसात् गर्दै समाजमा आपसी प्रेम, भाइचारा र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यसमेत कार्यक्रमको रहेको छ।
ऐतिहासिक अवसरलाई अविस्मरणीय बनाउने अपिल
लामो अन्तरालपछि आयोजना हुन लागेको अखण्ड हरिकृतन भजनलाई अन्नपूर्ण–१ को धार्मिक तथा सांस्कृतिक इतिहाससँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
आयोजक समितिले सबै गाउँवासीलाई आग्रह गर्दै भनेको छ, “यो अवसर ३५–३६ वर्षपछि आएको छ। त्यसैले हामी सबै मिलेर आफ्नो गाउँको धार्मिक परम्परा र एकताको परिचय दिने गरी कार्यक्रमलाई भव्य र अविस्मरणीय बनाऔँ।”
रकमको आकारभन्दा मनको श्रद्धा र सहभागिता ठूलो हुने भन्दै समितिले आर्थिक सहयोगसँगै स्वयंसेवी श्रम, भजन–कीर्तनमा सहभागिता, व्यवस्थापनमा सहयोग तथा आफ्ना बालबालिकालाई धार्मिक कार्यक्रममा सहभागी गराएर योगदान गर्नसमेत अनुरोध गरेको छ।
“हरे कृष्ण, हरे कृष्ण,
कृष्ण कृष्ण, हरे हरे।
हरे राम, हरे राम,
राम राम, हरे हरे।”
भक्तिमय नामस्मरण र अखण्ड हरिकृतनको गुञ्जनसँगै अन्नपूर्ण–१ मा लामो समयपछि पुनः धार्मिक उत्सवको वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।
आयोजकले सम्पूर्ण गाउँवासी, टोलवासी तथा भक्तजनमा हार्दिक निमन्त्रणा गर्दै भनेको छ: आउनुहोस्—भजनमा जोडिऔँ, धर्म–संस्कृति जोगाऔँ, एकता र सद्भाव बढाऔँ।













