पोखरा–१३ का वडाध्यक्षको उदाहरणीय निर्णय : बाढीपीडितका लागि दिए मासिक पारिश्रमिक

पोखरा । पोखरा महानगरपालिका–१३ का वडाध्यक्षले आफ्नो मासिक पारिश्रमिक बाढी तथा पहिरोपीडितको राहतका लागि प्रदान गर्ने घोषणा गरेका छन्। मुलुक विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला जनप्रतिनिधिको हैसियतले आफूले पाउने पारिश्रमिक पीडित नागरिकको राहतमा समर्पित गर्ने निर्णय उनले मंगलबार गरेका हुन्।
बाढी र पहिरोका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको र धेरै परिवार तत्काल राहतको पर्खाइमा रहेकाले आफ्नो मासिक पारिश्रमिक सरकारी राहत कोषमा जम्मा गर्ने उनले बताएका छन्।
‘जनप्रतिनिधिको पद सेवा, सुविधा र अधिकारका लागि मात्र होइन, जनताको दुःखमा साथ दिन र आफूले सक्ने योगदान गर्नका लागि पनि हो,’ उनले भने।
उनका अनुसार आजैदेखि आफूले पाउने मासिक पारिश्रमिक राहत कोषमा जानेछ। आफ्नो यो सानो प्रयास विपद्मा परेका नागरिकको जीवनमा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्य रहेको उनले बताए।
‘मेरो सानो योगदान विपद्मा परेका नागरिकका लागि ठूलो आशा बनोस् भन्ने चाहन्छु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
रसुवा लगायतका जिल्लामा बाढी तथा पहिरोबाट ठूलो क्षति भएको अवस्थामा उनले कठिन घडीमा सम्पूर्ण नेपालीलाई आ–आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्न अपिल गरेका छन्। साथै, अन्य जनप्रतिनिधि तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूले पनि विपद्मा परेका नागरिकका लागि आफ्नो तर्फबाट सक्दो योगदान गर्नुपर्नेमा उनले जोड दिएका छन्।
आफ्नो जिम्मेवारीसँगै मानवीय दायित्व पनि निर्वाह गर्नुपर्छ भन्ने सन्देश दिने यो निर्णयले विपद्को समयमा जनप्रतिनिधि र आम नागरिकलाई समेत सहयोगका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।












