विपद्मा लायन्सको अग्रसरता : राहतसँगै पुनःस्थापनाको अभियानमा अन्तर्राष्ट्रिय नेतृत्व

नुवाकोट । बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा सघाउने उद्देश्यले लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका नेतृत्व तथा स्वयंसेवकहरू सक्रिय भएका छन्।
विपद्को समयमा राहत सामग्री वितरणमा मात्र सीमित नरही प्रभावित समुदायको वास्तविक आवश्यकता पहिचान गरी पुनःस्थापनासम्म साथ दिने अभियानअन्तर्गत लायन्सको उच्च नेतृत्व प्रभावित क्षेत्रमा पुगेको हो। लायन्स अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालको नेतृत्वमा नुवाकोट पुगेको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था र आवश्यकताबारे जानकारी लिएको छ।

टोलीमा स्पाउस पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान, जीएटी एरिया लिडर शम्भु घिमिरे, मल्टिपल काउन्सिल चेयरपर्सन केशर भण्डारी, लायन्स अन्तर्राष्ट्रिय सोसियल एम्बासडर मनबहादुर रोकालगायत विभिन्न डिष्ट्रिक्टका लायन्स नेतृत्व तथा स्वयंसेवक सहभागी थिए।
टोलीले नुवाकोटमा बाढीबाट प्रभावित ५०० भन्दा बढी नागरिकलाई दैनिक भोजन उपलब्ध गराइरहेको आश्रयस्थलको समेत निरीक्षण गरेको छ। संकटका बेला ‘कसैलाई भोकै बस्न नदिने’ मानवीय भावनाका साथ लायन्स क्लबहरूले खाद्यान्न, अत्यावश्यक सामग्री तथा आर्थिक सहयोग जुटाउँदै आएका छन्।
लायन्स अन्तर्राष्ट्रियका सोसियल एम्बासडर मनबहादुर रोकाले तत्काल राहतका साथै प्रभावित परिवारलाई आवश्यक अन्य सहयोग उपलब्ध गराउन लायन्सका क्लब तथा स्वयंसेवकहरू परिचालित रहेको बताए।
राहतसँगै पुनःस्थापनामा जोड

लायन्स अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले विपद्पछि प्रभावित परिवारलाई पुनः सामान्य जीवनमा फर्काउन दीर्घकालीन योजनासहित अघि बढ्ने बताए। उनका अनुसार तत्कालीन राहत, पुनःप्राप्ति तथा दीर्घकालीन पुनःस्थापनाका विषयमा जिल्ला समन्वय समिति तथा स्थानीय सरोकारवालासँग लायन्स नेतृत्वले छलफल गरेको छ।
छलफलमा लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) बाट प्राप्त २ लाख अमेरिकी डलरको ‘मेजर क्याटास्ट्रोफी ग्रान्ट’ लाई प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा पारदर्शी र प्रभावकारी ढंगले परिचालन गर्ने विषयमा विशेष जोड दिइएको लम्सालले बताए।
उनका अनुसार राहत वितरणलाई तत्कालीन आवश्यकतामा मात्र सीमित नराखी प्रभावित समुदायको दीर्घकालीन आवश्यकता र पुनःस्थापनालाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाइनेछ।
पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले विपद्को समयमा सामाजिक संघसंस्थाको भूमिका राहत वितरणमा मात्र सीमित हुन नहुने बताए। प्रभावित समुदायको वास्तविक आवश्यकता पहिचान गरी तत्काल राहतदेखि पुनःप्राप्ति र दीर्घकालीन पुनःस्थापनासम्म साथ दिनुपर्ने उनको भनाइ छ।
पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले विपद्ले पीडा दिए पनि एकता, सहकार्य र सेवाभावले प्रभावित समुदायमा आशा जगाउन सक्ने बताए। लायन्सको वर्तमान अभियानले तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा समेत योगदान पुर्याउने उनले बताए।
रसुवामा पनि राहत वितरण

यसैबीच, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल र लायन्स क्लब अफ काठमाडौं सामाखुसीको सहकार्यमा रसुवाका करिब २०० बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
प्रभावित परिवारलाई खाद्यान्न, कपडा तथा घरायसी अत्यावश्यक सामग्री उपलब्ध गराइएको हो। भौगोलिक कठिनाइ र विपद्को जोखिमका बाबजुद प्रभावित नागरिकसम्म राहत पुर्याउन लायन्स स्वयंसेवकहरू परिचालित भएका थिए।
मल्टिपल काउन्सिल चेयरपर्सन केशर भण्डारीले लायन्स अन्तर्राष्ट्रियको मूल भावना नै मानवताको सेवा भएकाले विपद्मा राहत सामग्री पुर्याउनु मात्र नभई पीडितको दुःखमा साथ दिनु र पुनःउठ्न सहयोग गर्नु सेवाको महत्वपूर्ण पक्ष भएको बताए।
लायन्स नेतृत्वले प्रभावित नागरिकलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउँदै पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।











