
सभापति बन्न ४० हजार, महामन्त्रीलाई ३० हजार, वडा सदस्यलाई ५०० रुपैयाँ
काठमाडौं — नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’ मा सभापतिदेखि वडा सदस्यसम्मको उम्मेदवारी शुल्क र आवश्यक प्रस्तावक–समर्थकको संख्या तोकेको हो।
निर्देशिकाअनुसार सभापतिका उम्मेदवारले महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्नेछ। उपसभापति र महामन्त्रीका लागि सात–सात, सहमहामन्त्रीका लागि पाँच–पाँच तथा केन्द्रीय सदस्यका लागि तीन–तीन जना प्रस्तावक र समर्थक आवश्यक पर्नेछ।
उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।
प्रदेश सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा प्रदेश सदस्यका लागि पाँच हजार रुपैयाँ शुल्क लाग्नेछ।
वडातर्फ सभापतिका लागि एक हजार, उपसभापति, सचिव र सहसचिवका लागि सात सय तथा वडा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि पाँच–पाँच सय रुपैयाँ शुल्क तोकिएको छ।
निर्वाचन निर्देशिकालाई सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ।















