0Shares

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ताले एपमार्फत आफ्नो नाममा जम्मा भएको योगदान रकमलगायत विस्तृत विवरण हेर्न सक्ने बताउनुभयो । “योगदानकर्ताले कुन महिनामा कति योगदान रकम जम्मा भयो, भएन, कति प्रतिशत जम्मा भयो भन्ने सम्पूर्ण विवरण सहजै मोबाइलबाटै हेर्न सक्नुहुनेछ”, उहाँले भन्नुभयो, “कोषले प्रवाह गर्ने सेवा पनि सोही एपमार्फत लिन सकिनेछ ।”

कोषले योगदानकर्तालाई विभिन्न किसिमका सुविधा उपलब्ध गराउँदै आएको छ । अब छिट्टै कोषले प्रदान गर्ने सेवाका लागि एपबाटै आवेदन दिन सक्ने व्यवस्था मिलाइने बताइएको छ । कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बर राखेर एपमार्फत योगदानकर्ताले आफ्नो सम्पूर्ण विवरण हेर्न सक्नेछन् । “सामाजिक सुरक्षा कोषको अनलाइन प्रणालीबाट योगदानकर्ताले हेर्न सक्ने सम्पूर्ण विवरण अब एपमार्फत आ–आफ्नो मोबाइलमा हेर्न सकिने छ”, प्रवक्ता पन्थीले भन्नुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected