52Shares

घनश्याम रेग्मी

हाम्रो देशमा शारीरिक बल प्रयोग गरेर काम गर्नेहरुलाई मात्र श्रमिक वा मजदुर भन्ने चलन छ । कुर्सीमा बसेर वा दिमाग खर्चिएर पारिश्रमिक लिनेहरु चाहिं श्रमिक होईनन् भन्ने सोच नै गलत छ । सामान्य भाषामा मानसिक वा शारीरिकरुपले आफुले काम गरेवापत रोजगारदाताबाट परिश्रमिक प्राप्त गर्ने व्यक्तिलाई श्रमिक भनिन्छ । स्थायी, अस्थायी, ज्यालादारी, पिसरेट, ठेक्का, करारमा काम गर्ने वा रोजगारीको खोजीमा रहेका वा वेरोजगारी अवस्थामा रहेका व्यक्तिलाई पनि श्रमिक भनिन्छ ।

ट्रेड युनियन ऐनमा व्यवस्था भएअनुसार कामदार भन्नाले प्रतिष्ठान र प्रतिष्ठान बाहिर विभिन्न उद्योग, व्यापार, व्यवसाय वा सेवामा कार्यरत स्थायी, अस्थायी, करार, दैनिक ज्यालादारी पिसरेट, ठेक्कामा वा त्यस अन्र्तगत काम गर्ने कामदार तथा कृषि श्रमिकलाई सम्झनु पर्दछ । सो शब्दले व्यवस्थापक तथा प्रबन्धक तह र त्यसको विभाग शाखा, उपशाखा तथा इकाईको प्रमुख भई काम गर्ने कर्मचारी बाहेक अन्य कर्मचारी र स्वरोजगार गर्ने व्यक्तिलाई समेत जनाउँछ । प्रतिष्ठानमा एक निश्चित काम गरेवापत पारिश्रमिक पाउने र श्रमिकको नियुक्ति, सरुवा, बढुवा तथा विभागीय कार्वाहीमा संलग्न नरहने व्यक्तिलाई मात्र श्रमिक भनिन्छ । श्रमिक मध्येकै कुनै पनि व्यक्तिले व्यवस्थापकको प्रतिनिधिको रुपमा काम गर्ने अधिकार पाएको छ र उसले श्रमिकसँग व्यवहार गर्दा व्यवस्थापक वा रोजगारदाताको पक्षमा कार्य गर्नुपर्ने उसको दायित्व तोकिएको छ भने त्यस्तो व्यक्ति श्रमिक नै भए तापनि ट्रेड युनियनको सदस्य बन्न पाउँदैन ।
पूँजी लगानी गर्ने व्यक्तिहरु वा उद्योगपतिको संगठनलाई ट्रेड युनियन भनिदैन । रोजगारदाता वा उद्योगपतिहरु श्रमिक होइनन् । तर आफ्नै श्रम प्रयोग गरेर आफ्नै लगानीमा स-साना व्यवसाय संचालन गर्ने मानिसहरु जसलाई स्वरोजगार श्रमिक भनिन्छ । स्वरोजगारीको नाममा श्रमिकहरु नियुक्त गरेर उनीहरुमाथि व्यवस्थापकिय अधिकार प्रयोग गर्ने र मुनाफा आर्जनका निम्ति त्यस्तो व्यवसाय संचालन गर्ने व्यक्तिहरु भने रोजगारदाता वा लगानीकर्ता नै मानिन्छन् ।
ट्रेड युनियन भनेको श्रमिकहरुको संगठन हो । आफ्नो हक, हित र अधिकारको संरक्षणका निम्ति एक्लो श्रमिकले कहिल्यै पनि लडाई लड्न सक्दैन । बलियो व्यवस्थापनका अगाडि एकजना श्रमिक अत्यन्त कमजोर हुन्छ । श्रमिकहरुले आफ्नो पेशागत तथा वर्गीय समस्याहरुको समाधान आफ्नै सामुहिक तथा संगठित प्रयासबाट एक आपसमा मिलेर गर्न सक्दछन् । एक आपसमा सहमत भएर निर्माण गरेको नीति नियम अन्तर्गत श्रमिकहरुद्वारा उनीहरुको हक, हित र अधिकारको संरक्षणका निम्ति संचालन भएको प्रजातान्त्रिक श्रमिक संगठनलाई नै ट्रेड युनियन भनिन्छ ।
संगठित शक्तिको माध्यमबाट श्रमिकका अधिकार र हितको सुरक्षा गर्न र विना रोकावट ट्रेड युनियन अधिकार उपभोग गराउनका लागि नै ट्रेड युनियनको गठन तथा संचालन गरिने हुँदा यस्तो युनियनको गठन र संचालन निर्वाधरुपले गर्न पाउनु पर्छ । ट्रेड युनियनको गठन र संचालनका सम्बन्धमा केहि आधारभुत अधिकारहरु युनियनसँग सुरक्षित रहनुपर्दछ भन्ने मान्यता छ । त्यस्ता अधिकारहरु जसलाई ट्रेड युनियन अधिकार भनिन्छ जुन कहिल्यै पनि कुनै पनि अवस्थामा खोसिनु वा अवहेलित हुनु हुँदैन भन्ने कुरामा श्रमिकहरु सचेत रहनु पर्दछ । नेपालको सन्दर्भमा यो नेपालको संविधान २०७२ले सुनिश्चित गरेको छ।संविधानमा उल्लेख भयको अधिकार सरकारले कटौती गर्न सक्दैन बरु उक्त अधिकार कार्यान्वयन गर्ने बाताबरण निर्माण गर्नु सरकारको कर्तव्य हुन्छ।
ट्रेड युनियनका नेता तथा संगठनकर्ताहरुले आफ्नो संगठन बनाउन नयाँ सदस्य बनाउन युनियनको कुराभन्दा बढी राजनीतिक आदर्श राजनीतिक पार्टी र नेताहरुसँगको सामिप्यता, राजनीतिक पार्टीको सिद्धान्त, कार्यक्रमका बारेमा व्याख्या गरेर श्रमिकलाई आफूतिर आकषित गर्ने गरेको पाईन्छ ।
ट्रेड युनियन भनेको राजनीतिक पार्टीको परिपुरक हो र युनियनको सदस्यता लिनु भनेको सिधा पार्टीको सदस्य बन्नु हो भन्ने खालको भान पारेर सदस्यता दिने गरेको पनि पाइएको छ । युनियनको संगठन गर्ने यस्तो तरिका ठीक होइन । ट्रेड युनियन र राजनीतिक पाटीबीच के फरक छ ? यी दुई बीच कस्तो सम्बन्ध रहनु पर्छ ? यस बारेमा युनियनका नेता तथा कार्यकर्ताहरुले बुझ्नु अनिवार्य हुन्छ । ट्रेड युनियन भनेको श्रमिकको संगठन भएकोले यसले श्रमिकको हित लाई पहिलो प्राथमिकता दिनु पर्छ । तर राजनीतिक पार्टी सत्ता प्राप्तीको उद्देश्य लिएर संगठित संस्था भएको र यसमा समाजका सबै स्पंका मानिसहरु जस्तैः उद्योगपति, व्यापारी, भूमिपति, कामदार आदि समेत सदस्य बन्न सक्ने हुँदा यसले गर्ने सबै निर्णयहरु श्रमिक हितमा मात्र हुन्छन् भन्ने कुराको निश्चितता रहदैन । राजनैतिक पार्टीको निर्णय प्रक्रियामा श्रमिक वर्गले भन्दा अरु वर्गले प्रभाव पारेका उदाहरणहरु प्रशस्त मात्रामा पाईन्छन् । आफ्नो विरुद्ध निर्णय गर्ने सम्भावना रहेको शक्तिका पक्षमा वकालत गर्दा श्रमिकले पाउनु भन्दा बढी गुमाउनु पर्ने हुनसक्छ ।
ट्रेड युनियनहरु आफै राजनीतिक शक्तिको रुपमा स्थापित भएकोमा बाहेक अन्य राजनीतिक पार्टी र ट्रेड युनियनको चाहना र उद्देश्य सधैं समान भइरहन सक्दैन । तसर्थ फरक रुची र उद्देश्य बोकेको शक्तिको प्रेरणाले युनियनमा आवद्ध हुने चलन आफैमा गलत हो । तपाईले वकालत गर्ने पाटीले नै तपाईको हित पुरा गरिदिने भए युनियनको गठन र संचालन नै गर्नु पर्ने थिएन ।
युनियनमा लाग्दा श्रमिकले यो मेरो र म जस्ता मानिसहरु मात्र संलग्न रहेर बनेको संस्था भएको हुँदा म र मजस्ता मानिसको समस्या समाधान गर्न तथा आफ्नो जीवनस्तर उकास्न गरिने सामूहिक प्रयत्नमा म स्वयं संलग्न हुन्छु भन्ने सोच्नु पर्दछ ।
के त्यसो भए राजनीतिक पार्टीको विरोध नै गर्नु पर्छ ? त्यसो पनि ठीक होइन । मुख्य कुरो के हो भने युनियन र राजनीतिक पार्टी दुवै आ- आफ्ना विधान अन्तर्गत आ-आफ्ना उद्देश्य र नीति लिएर संचालन हुने संगठित संस्था हुन् । दुवैको समान अस्तित्व छ । तसर्थ कुनै एकले अर्काको मातहतमा रहनुपर्ने बाध्यता हुँदैन ।
युनियनले श्रमिकको पक्षमा सरकारबाट सहयोग लिनुका साथै समय र परिस्थिति अनुसार कुनै पनि पार्टीसँग सामिप्यता राख्न सक्दछन् । यस्तो सम्बन्ध तत्कालिक सहमती वा सम्झौताका आधारमा स्थापित हुनसक्छ। त्यस्तो सहमति पालना नभएको अवस्थामा तोडिन पनि सक्छ ।
श्रमिकका लागि आफ्नो युनियनको विधान, उद्देश्य र युनियनका नीति एवं निर्णयहरु सबैभन्दा महत्वपूर्ण कुरा हुन् । यसको पालना गर्ने र युनियनकै माध्यमबाट आफ्ना चाहनाहरु पूरा गर्ने कोशिश भए मात्र युनियन भरपर्दो हुन सक्छ ।
युनियनका सदस्यहरु व्यक्तिगत रुपमा स्वतन्त्र रहन सक्दछन् । कोही पनि राजनीतिक आस्थाप्रति बचनबद्ध हुन वा कुनै पनि दलको कार्यकर्ता बन्न सक्दछन् । तर युनियन भित्र भने पार्टीको सदस्यको हैसियतले होइन युनियनको सदस्यको हैसियतले काम गर्नु पर्दछ । एकीकृत श्रमिक आन्दोलनको सम्भावनालाई सदाका निम्ति विखण्डित तुल्याइदिन सक्छ । व्यवहारिक रुपमा भन्नु पर्दा विषयगत आधारमा तात्कालीक अवस्थाका लागि सम्बन्ध स्थापित गर्नु नै युनियन तथा आम श्रमिकका लागि हितकर हुनसक्छ ।
तसर्थ, ट्रेड युनियन र राजनीतिक पार्टी बीचको सम्बन्ध धेरै नजिकको वा धेरै टाढाको हुनु दुवै उचित होइन । सबैभन्दा उत्तम सम्बन्ध भनेको तटस्थताको सम्बन्ध नै हो । तसर्थ ट्रेड युनियन जति तटस्थ हुन्छ तेतिनै मात्रामा सम्मानित हुने गर्दछ।किनकी कोहि मानिसको जन्मनु भन्दा अगाडि बाटनै ट्रेड युनियन कर्मिको सहयोग आबस्यक पर्दछ जुन स्वास्थ कर्मी हुन सक्दछ तेसै गरि जन्मदा देखि मृत्यु सम्म ट्रेड युनियनको आबस्यक पर्द छ भने मृत्यु पछि पनि सब बाहानमा जदा यातायात श्रमिक को आबश्यक पर्दछ !तसर्थ मानिस बिहान उठने बित्तिकै नास्ता खादा अथवा घरमा केही काम गर्दा गृह श्रमिक देखि गन्तव्यमा पुग्न यातायात श्रमिक देखि बैंकमा कारोबार गर्दा पनि बित्तिय कर्मचारी हरुको सहयोग को आबश्यक पर्दछ तेसैले मानिसको जीवन श्रमिकको सहयोग बिना सम्भब हुदैन तेसैले राजनीति गर्ने ब्यक्तिलाई ट्रेड युनियनको आबश्यकता जति पर्दछ त्यति ट्रेड युनियनकर्मी लाई राजनीतिको आबश्यकता पर्दैन। तसर्थ आफ्नो क्षमता आफैले नचिनेर नेपाली श्रमिक हरु अन्योल परेको अबस्था छ।
राजनीतिक पार्टीको सदस्यता चाहिने भनेको समाजमा जाने साधनहो जुन साधन ट्रेडयुनियन कर्मी सगा पहिलानै सुरक्षीत रहेको हुन्छ,जस्तै कुनै एक जना शिक्षकलाइ समाजमा जान राजनीतिक पार्टीको सदस्यता आबस्यकनै पर्दैन उ पाटिको सदस्यताको प्रचारप्रसार गर्ने होइन आफुलाइ मन परेको दर्शन को प्रचारप्रसार गर्न सक्दछ।आफू कुनै पार्टीको झन्डा समायर आम सभामा जानू पर्दैन आफ्नो प्रभावका मानिस हरुलाइ आम सभामा जाने बाताबरणको निर्माण गर्न सक्दछ ,पार्टिको कार्यक्रम संचालक हुने होइन सन्चालक बनाउने हो उसलाई आबस्यक भय तालिम दिने र सहयोग गर्ने हो।शिक्षक समाजमा जादा राजनीतिक दलको एजेन्डा होइन आफ्ना विद्यार्थीको भबिस्यको एजेन्डा लियर जाने हो ताकि अभिभाबक र बिद्यार्थी दुबै एकदिनको भेटले जीवनकाल सम्म अनुयायी होस।तसर्थ ट्रेड युनियनकर्मी हरुले राजनीतिक दलको सदस्य होइन एउटा् समाजको अभिन्न सदस्यीय सदस्यता लिने हो समाजमा अभिन्न अङको रुपमा रहने हो जसलाइ सबैले सम्मान गर्दछ्न ।तेसैले सदस्य लियर बिबादास्पद इहुने होइन समाजको अमुल्य गहना भयर रहने हो जुन दलको सदस्य र पदाधिकारी भन्दा धेरै गुणा प्रभाकारी हुन्छ।
(उहाँ नेपाल ट्रेड युनियन काङ्ग्रेस गण्डकी प्रदेश समितिक़ो उपाध्यक्ष हुनुहुन्छ)

52Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected