देशभर निषेधाज्ञा र कर्फ्यु,अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल
- September 10, 2025
- 1035

काठमाडौं । नेपालमा उत्पन्न भएको विषम परिस्थिति र शान्ति–सुरक्षा कायम राख्न देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ।
सेनाले जारी गरेको विज्ञप्तिअनुसार, आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने त्यसपछि भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ। परिस्थितिको समीक्षापछि थप जानकारी सार्वजनिक गरिने पनि सेनाले जनाएको छ।
आन्दोलनको आडमा अराजक समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, हिंसा तथा बलात्कार प्रयासजस्ता गतिविधि गर्न सक्ने सम्भावना रहेको भन्दै सेनाले यस्तो कदम चालिएको स्पष्ट पारेको छ। निषेधाज्ञा र कर्फ्युका बेला एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ।
सेनाले आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमणलाई दण्डनीय अपराध मानिने चेतावनी दिँदै त्यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने जनाएको छ। .साथै, सेनाले आम नागरिकलाई अफवाहमा नलाग्न, आधिकारिक सूचनामात्र विश्वास गर्न, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन आ–आफ्नो दायित्व वहन गर्न आग्रह गरेको छ।







सम्बन्धित खवर
















