पोखरामा विहीबार साँझदेखि फोहोर संकलन सुरु, जथाभावी फाल्नेलाई १ लाखसम्म जरिवाना

पोखरा। पोखरा महानगरपालिकाले विहीबार साँझदेखि फोहोर संकलन पुनः सुरु गर्ने जनाएको छ। महानगर प्रमुख धनराज आचार्यले फोहोर संकलनका लागि महानगरको गाडी आउने भएकाले गाडी नआउँदासम्म धैर्यतासाथ पर्खन नगरवासीलाई अनुरोध गरेका छन्।
उनका अनुसार शनिबारसम्म हालसम्म जम्मा भएको सम्पूर्ण फोहरमैला उठाइनेछ। आइतबारपछि जथाभावी सार्वजनिक स्थानमा फोहर फालिएको पाइएमा अनुगमन टोलीले स्थलमै कारबाही गर्नेछ। प्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै सिसी क्यामेराबाट पहिचान भएका व्यक्तिलाई न्यूनतम पाँच हजारदेखि अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना गरिने चेतावनी दिएका छन्।
‘जरिवाना तिर्ने व्यक्तिको नाम राष्ट्रिय दैनिक पत्रिका, महानगरपालिकाको आधिकारिक फेसबुक पेज तथा वेबसाइटमा समेत सार्वजनिक गरिनेछ,’ आचार्यले उल्लेख गरेका छन्। उनका अनुसार महानगरपालिका तत्कालीन, अल्पकालीन, अस्थायी तथा दीर्घकालीन रूपमा फोहर व्यवस्थापनको काममा सक्रिय रूपमा लागिरहेको छ।
धेरै दिनदेखि फोहोर संकलन हुन नसकेकाले सुरुका एक–दुई दिन फोहर उठाउन केही चाप पर्न सक्ने आकलन गरिएको छ। यस्तो अवस्थामा सार्वजनिक सडक तथा खुला स्थानमा फोहर विसर्जन नगर्न महानगरले पुनः आग्रह गरेको छ। फोहोर संकलन गाडीको रुट र समयतालिका पुनः प्रकाशन गरिने बताउँदै नगरवासीबाट सहयोगको अपेक्षा गरिएको छ।
पछिल्लो समय विभिन्न अवरोधका कारण उठ्न नसकेको फोहरलाई तत्कालका लागि अल्पकालीन व्यवस्थापनअन्तर्गत संकलन गर्न लागिएको हो। लामेआहालस्थित ल्याण्डफिल साइड भरिएपछि वैकल्पिक व्यवस्थापनका लागि दर्जनौँ सम्भावित स्थानको खोजी गरिए पनि विभिन्न कारणले अन्तिम टुङ्गो लाग्न नसकेको महानगरपालिकाले जनाएको छ।






सम्बन्धित खवर















