२०८३ सालको बिदा सूची सार्वजनिक : भदौ २३ मा ‘जेन–जी सहिद दिवस’ ५२ शनिवार, ३७ सार्वजनिक बिदा
- March 4, 2026
- 135

पोखरा। सरकारले २०८३ सालको सार्वजनिक बिदा सूची राजपत्रमा प्रकाशित गर्दै भदौ २३ गतेलाई जेन–जी सहिद दिवसका रूपमा राष्ट्रिय स्तरमा मनाउने निर्णय गरेको छ। यसअघि सो मितिमा निजामती सेवा दिवस र जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मात्र उल्लेख हुँदै आएको थियो। आगामी वर्षदेखि जेन–जी सहिद दिवस थप गरिएको हो।
फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रोका आधारमा बिदा स्वीकृत गरेको हो। सोही निर्णयअनुसार गृहमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेसँगै बिदा लागू भएको छ।
प्रकाशित सूचना अनुसार ५२ दिन शनिवार, ३७ दिन सार्वजनिक बिदा, ४ दिन धर्म/क्षेत्र विशेष पर्व, ४ दिन उपत्यकामा मात्र, १–१ दिन तीज र जितिया मनाउने महिला कर्मचारीका लागि, १ दिन अपाङ्गता भएका व्यक्तिका लागि, ३ दिन सम्बन्धित धर्मावलम्बीका लागि र २ दिन जन्मजयन्ती बिदा गरिएको छ।
२०८३ सालमा वैशाख १ गते नयाँ वर्ष, असोज ३१ देखि कात्तिक ६ गतेसम्म दशैं (फूलपातीदेखि द्वादशी) तथा कात्तिक २२–२६ सम्म तिहार बिदा परेको छ। दशैंमा अष्टमी दुई दिन परेकाले एक दिन थप बिदा हुनेछ। अन्य प्रमुख बिदामा छठ, माघे संक्रान्ति, महाशिवरात्रि, फागु पूर्णिमा (पहाड/तराई फरक–फरक दिन), बुद्ध जयन्ती, क्रिसमस डे लगायत समावेश छन्। उपत्यकामा गाईजात्रा, इन्द्रजात्रा, घोडेजात्रा र मच्छेन्द्रनाथको भोटो देखाउने दिन सार्वजनिक बिदा हुनेछ।
बिभिन्न दिवसहरुमा परेका बिदामा वैशाख १८ – मजदुर दिवस, जेठ १५ – गणतन्त्र दिवस, माघ १६ – शहीद दिवस, असोज ३ – संविधान दिवस, फागुन ७ – राष्ट्रिय प्रजातन्त्र दिवस र फागुन २४ – अन्तर्राष्ट्रिय महिला दिवस परेका छन्।
यसैगरी, जेठ २१ – जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस, भदौ २२ – निजामती सेवा दिवस, भदौ २३ – जेन–जी सहिद दिवस रहेका छन्।
बिदाको दिन पनि अस्पताल, प्रहरी, अध्यागमन, दूरसञ्चार, दमकल, फोहोरमैला व्यवस्थापन, रेडियो नेपाल, नेपाल टेलिभिजन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र, मालपोत, नापी, वैदेशिक अध्ययन अनुमति (एनओसी), बैंकिङ तथा बीमा लगायतका सेवा सञ्चालन हुनेछन्। प्रदेश सरकारले आफ्नो प्रदेशमा अधिकतम ६ दिन मात्र अतिरिक्त बिदा दिन पाउने व्यवस्था गरिएको छ।




















