0Shares

पोखरा । ज्येष्ठ नागरिक सञ्जाल नेपालले गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङलाई ज्येष्ठ नागरिकका हकहित सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ।

सञ्जालका अध्यक्ष कुसुम केशव पराजुलीले विभिन्न माग समेटिएको ज्ञापनपत्र मन्त्री गुरुङलाई हस्तान्तरण गरेका हुन्। ज्ञापनपत्रमा विभिन्न कारणले १५ वर्षदेखि नागरिकता बिहीन जीवन बिताइरहेका, अशक्त, असहाय तथा अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई नागरिकता, राष्ट्रिय परिचयपत्र र सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउन माग गरिएको छ।

त्यस्तै, प्रदेश तथा जिल्लास्तरमा ज्येष्ठ नागरिकका लागि तालिमप्राप्त प्राविधिक, थेरापी र मनोपारामर्श सेवा सहित एकीकृत जेरियाट्रिक स्वास्थ्य केन्द्र सञ्चालन गर्नुपर्ने माग पनि गरिएको छ। ज्येष्ठ नागरिक दिवस सेवा केन्द्रहरूमा स्वयंसेवकको संख्या सुनिश्चित गर्दै वर्षमा कम्तीमा एक पटक पालिका वा प्रदेशस्तरमा भ्रमण कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा अल्जाइमर र डिमेन्सिया जस्ता समस्याको पहिचान र न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, प्रत्येक जिल्लामा कम्तीमा एक अल्जाइमर स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्न घुम्ती टोली परिचालन गर्नुपर्ने माग राखिएको छ।

सञ्जालले असहाय, अशक्त तथा परिवारविहीन ज्येष्ठ नागरिकको हेरचाह, उपचार र जीवनयापनको जिम्मेवारी सरकारले लिनुपर्ने तथा त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेको छ।

त्यसैगरी, ज्येष्ठ नागरिक सेवा केन्द्रका नाममा हुने अनियमितता, भ्रष्टाचार तथा ठगी नियन्त्रण गर्न, सम्बन्धित निकायलाई कानुनी दायरामा ल्याउनुपर्ने माग पनि गरिएको छ। स्थानीय तह, समुदाय र युवालाई ज्येष्ठ नागरिकसँग जोड्दै ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

सञ्जालले ज्येष्ठ नागरिकमैत्री पूर्वाधार विकास, आवासीय सेवा केन्द्र सञ्चालन तथा हेरचाहसम्बन्धी तालिममार्फत रोजगारी सिर्जना गर्न सकिने उल्लेख गरेको छ।

ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले उठाइएका मागप्रति सकारात्मक रहेको बताउँदै कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा गण्डकी ज्येष्ठ नागरिक संघका उपाध्यक्ष धर्मबहादुर गुरुङ, अधिवक्ता गीता लामिछाने, मञ्चका अध्यक्ष टोपराज ढुंगाना लगायतको उपस्थिति रहेको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected