
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल करिब २५ हजार मतान्तरसहित विजयी भएका छन्।
विजयी उम्मेदवार पौडेल सञ्चार क्षेत्रबाट राजनीतिमा आएका युवा अनुहार हुन्। उनले पोखराका विभिन्न एफएम रेडियो र काठमाडौँका टेलिभिजनमा संवाददाताको रूपमा काम गरेका थिए। पत्रकारितामार्फत भ्रष्टाचार, बेथिति र सामाजिक विसंगतिविरुद्ध आवाज उठाउँदै आएका उनी सुशासनको मुद्दामा सक्रिय रहँदै आएका थिए।
पौडेलले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रश्मि आचार्यलाई २४ हजार ४१८ मतान्तरले पराजित गरेका हुन्। पौडेलले ३१ हजार ९११ मत प्राप्त गर्दा आचार्यले ७ हजार ४९३ मत मात्र प्राप्त गरे। अधिकांशले यस क्षेत्रमा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरे पनि परिणाम भने एकतर्फी देखियो।
यस निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला तेस्रो स्थानमा रहे। उनले ६ हजार ५०० मत प्राप्त गरे। केही वर्षअघि गम्भीर दुर्घटनाबाट बचेका बास्तोला यसपटकको चुनावी प्रचारप्रसारका क्रममा समेत लडेर घाइते भएका थिए।
अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हेमजंग गुरुङले १ हजार ६४३ मत, नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ मत र उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ५२ हजार ५१९ मत खसेको थियो। तीमध्ये १ हजार ८४४ मत बदर भएको छ।
लामो समयदेखि नेकपा एमालेको प्रभाव क्षेत्र मानिँदै आएको कास्की–२ मा यसपटक मतदाताले नयाँ राजनीतिक सन्देश दिएका छन्। यस क्षेत्रबाट यसअघि एमालेका तत्कालीन युवा नेता रविन्द्र अधिकारीले तीनपटक जित हासिल गरेका थिए। अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि उनकी पत्नी विधा भट्टराईले समेत दुईवटा निर्वाचन जितेकी थिइन्। तर यसपटक मतदाताले पुरानो विरासतभन्दा नयाँ अनुहार र नयाँ दलको रूपमा उदाएको रास्वपालाई रोजेका छन्।
एमालेभित्र युवा र वैचारिक नेताको रूपमा प्रचार गरिएका आचार्यले पार्टीले वर्षौँदेखि कायम गर्दै आएको विरासत जोगाउन भने सकेनन्।
पौडेललाई उम्मेदवार बनाइएपछि सुरुमा रास्वपाका स्थानीय वडा कमिटीका केही नेताहरूले असन्तुष्टि जनाएका थिए। तर उनले छोटो समयमै सबै पक्षलाई समेट्न सफल भएको चर्चा स्थानीय राजनीतिक वृत्तमा भएको थियो।
निर्वाचनमा विजयी भएपछि पौडेलले मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले भने, “कास्की–२ का मतदाताले म र रास्वपा माथि देखाउनुभएको विश्वास, माया र समर्थनका कारण प्रतिनिधिसभामा ३१ हजार ९११ मत दिएर निर्वाचित गराइदिनुभएकोमा हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। यो विजय मेरो व्यक्तिगत होइन, सम्पूर्ण कास्की–२ का नागरिकको विजय हो। यहाँहरूको विश्वासलाई सम्मान गर्दै देशको विकास, सुशासन र जनहितका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
पत्रकारिताबाट सुशासनको आवाज उठाउँदै आएका पौडेल अब त्यही मुद्दालाई संस्थागत गर्ने लक्ष्यसहित संसदमा प्रवेश गरेका छन्।




















