
पोखरा । सामाजिक सेवाबाट सार्वजनिक जीवनमा सक्रिय रहँदै आएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार बिना गुरुङ कास्की निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरसहित विजयी भएकी छन्।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङलाई झण्डै २५ हजार मतको अन्तरले पराजित गर्दै गुरुङ प्रतिनिधिसभामा निर्वाचित भएकी हुन्। अन्तिम मतपरिणाम अनुसार गुरुङले ३७ हजार ७५० मत प्राप्त गर्दा कांग्रेसका मनोज गुरुङ १२ हजार ७८० मतमा सीमित भए। यसअघि २०७९ सालको निर्वाचन जितेर सांसद बनेका नेकपा एमालेका दामोदर पौडेल बैरागीले भने ७ हजार ९०६ मत मात्र प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कास्की निर्वाचन क्षेत्र नम्बर–३ मा कुल ६५ हजार ४०७ मत खसेको थियो।
यस जितसँगै गुरुङ गण्डकी प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित हुने एक मात्र महिला सांसद बनेकी छन्। गण्डकी प्रदेशका अन्य निर्वाचन क्षेत्रमा भने कुनै पनि महिला उम्मेदवारले जित हासिल गर्न सकेका छैनन्।
कास्की–३ लाई नेपाली कांग्रेसले जित्न सक्ने सम्भावित क्षेत्रका रूपमा लिएको भए पनि मतदाताले यसपटक पुराना दलप्रति असन्तुष्टि जनाउँदै नयाँ दल र नयाँ अनुहारलाई रोजेका छन्। अधिकांश जनजाति समुदाय, विशेष गरी गुरुङ र दलित मतदाता रहेको मानिने कास्की–३ मा जनजाति समुदायको समर्थन, पुराना दलप्रति बढ्दो वितृष्णा तथा रास्वपाप्रति देखिएको जनलहर नै गुरुङको जितको मुख्य आधार बनेको विश्लेषण गरिएको छ।
रास्वपाको जिल्ला कोषाध्यक्षसमेत रहेकी गुरुङ सामाजिक, व्यावसायिक तथा सामुदायिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। उनी सञ्जीवनी सिस्टर्स एसोसिएसनकी संस्थापक अध्यक्ष हुन्। उक्त संस्थामार्फत विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक तथा शैक्षिक सहयोग प्रदान गर्दै आएको छ।
त्यसैगरी उनी तमुधिं नेपालकी केन्द्रीय सदस्य, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीकी पूर्व अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिकामा रहेकी छन्। व्यवसायिक रूपमा पनि सक्रिय गुरुङ पञ्चासे केबलकारको सञ्चालक समिति सदस्य र गोल्डेन साकोसकी उपाध्यक्ष हुन्। साथै उनले विभिन्न एजुकेसनल कन्सल्टेन्सी सञ्चालन गर्दै आएकी छन्।
कास्की–३ को मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल गिरीले १ हजार ४५६ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अर्जुन खनालले १ हजार ४०६ मत पाए। श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६ तथा उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६३ मत प्राप्त गरेका छन्।
यसैबीच, मतदान सम्पन्न भएलगत्तै निर्वाचित सांसद बिना गुरुङलाई मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले निर्वाचन अधिकृतको कार्यालयमा आयोजित समारोहमा विजेताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। सो अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्राकुमारी शर्मा, निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र नेउपाने लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै गुरुङले मतदाताले देखाएको विश्वासलाई कहिल्यै मर्न नदिने बताइन्। कास्की–३ का मतदाताले दिएको मत सुशासन, विकास र परिवर्तनको पक्षमा रहेको जनादेश भएको उल्लेख गर्दै उनले सोही जिम्मेवारीबोधका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले जनताले चाहेको सुशासन, विकास र युवापुस्ताको आकांक्षा पूरा गर्न आफ्नो कार्यकाललाई समर्पित गर्ने बताउँदै यस अवसरलाई देश र समाजको हितमा प्रयोग गर्ने संकल्पसमेत व्यक्त गरिन्।




















