0Shares

पोखरा। नयाँ वर्षको सुरुवातसँगै पोखरेलीका लागि सुखद खबर आएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शहरसम्मको यात्रा अब सहज, सस्तो र वातावरणमैत्री बन्ने भएको छ।

पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटर टाढा रहेको विमानस्थलबाट बाहिरिने यात्रुले ट्याक्सीको महँगो भाडा तिर्नुपर्ने बाध्यता झेलिरहेका बेला पोखरा महानगरपालिकाले निःशुल्क विद्युतीय सटल बस सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

अब विमानस्थलबाट अमरसिंह चोक सम्म सुविधा सम्पन्न विद्युतीय बस सञ्चालन हुनेछ। महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार नयाँ वर्षदेखि सुरु हुने यो सेवा असार मसान्तसम्म पूर्ण रूपमा निःशुल्क हुनेछ।

“विमानस्थल प्रशासनसँग समन्वय गरी उडान भएका बेला बस सञ्चालन हुनेछ,” तिवारीले जानकारी दिनुभयो। सुरुमा दुई वटा बसले सेवा दिने र असारपछि न्यूनतम शुल्क लिइने योजना छ।

यो सेवा महानगरको पहलमा विभिन्न वित्तीय संस्था र मोटर कम्पनीहरूको साझेदारीमा सञ्चालन गरिँदैछ। आवश्यक परे असारसम्मका लागि साझेदार खोज्ने वा महानगर आफैंले खर्च व्यहोर्ने तयारी पनि गरिएको छ।

महानगर प्रमुख धनराज आचार्यले यसलाई पोखरेलीका लागि नयाँ वर्षको विशेष उपहारको रूपमा प्रस्तुत गरे । “यस सेवाले विमानस्थल र मुख्य बजारबीचको आवतजावत निकै सहज बनाउनेछ,” उनले भने ।

महानगरका अनुसार एक विद्युतीय बसको मूल्य करिब १ करोड ३० लाख रुपैयाँ रहेको छ। साथै, जोखिम न्यूनीकरण केन्द्रसमेत मङ्गलबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected