पोखरा–३ मा बालमैत्री पहल: बालमञ्च पुनर्गठन, बालअधिकार समिति गठन, ४० विद्यार्थीलाई शैक्षिक सहयोग
- May 5, 2026
- 180

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ मा बालबालिकाको नेतृत्व विकास, संरक्षण र शैक्षिक सशक्तीकरणलाई केन्द्रमा राख्दै वडा स्तरीय एकता बालमञ्च पुनर्गठन, वडा बालअधिकार समिति गठन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ। कन्या मा.वि. नदिपुरको सभाहलमा आयोजित कार्यक्रममा १०० भन्दा बढी स्थानीय बासिन्दा, अभिभावक, शिक्षक, बुद्धिजीवी तथा बालबालिकाको सहभागिता रहेको थियो।
कार्यक्रम एकता बालमञ्चका निवर्तमान अध्यक्ष सुबेग पाण्डेको अध्यक्षता तथा कार्यवाहक वडा अध्यक्ष शान्ति देवी पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा वडा सदस्य सबी परियार, सनकमान सी.के. तथा वडा सचिव दमयन्ती पराजुलीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममार्फत वडा स्तरीय एकता बालमञ्चको नयाँ कार्यसमिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा उज्ज्वल पराजुली चयन भएका छन् भने उपाध्यक्षमा क्रिस्टिना सुनाम, सचिवमा रियाज घिमिरे, सह–सचिवमा श्रृष्टि पौडेल र कोषाध्यक्षमा स्वस्तिका विश्वकर्मा चयन भएका छन् । १५ सदस्यीय समितिमा एक सदस्य पछि मनोनयन गरिने जनाइएको छ।

यसैगरी, बालबालिकाको अधिकार संरक्षण र सुनिश्चितताका लागि वडा बालअधिकार समिति गठन गरिएको छ । समितिको संयोजकमा वडा सदस्य सबी परियार तथा सदस्य सचिवमा वडा सचिव दमयन्ती पराजुली रहेका छन्। साथै, शहरी स्वास्थ्य केन्द्र प्रमुख गीता शर्मा, कन्या मा.वि.का प्रधानाध्यापक प्रेम बुढाथोकी, प्रहरी बिट नदिपुरका डम्बर भट्ट लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरू समितिमा समेटिएका छन्।
कार्यक्रमकै अवसरमा वडा भित्रका चार सामुदायिक विद्यालयका ४० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला, कापी, कलमलगायत शैक्षिक सामग्री वितरण गरिएको थियो।
बालहितकारी परियोजना, नेपालकी सहजकर्ता संगीता भण्डारीको सहजीकरणमा चार चरणमा सम्पन्न कार्यक्रममा बालमञ्च पुनर्गठन, बालअधिकार समिति गठन, शैक्षिक सामग्री वितरणसँगै शुभेच्छा मन्तव्य प्रस्तुत गरिएको थियो।
वक्ताहरूले बालबालिकालाई ‘काँचो माटो’सँग तुलना गर्दै उचित मार्गदर्शन र संरक्षण भएमा उनीहरूलाई भविष्यका जिम्मेवार नागरिकका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे। वडा सचिव दमयन्ती पराजुलीले बालअधिकार संरक्षणमा सबै सरोकारवाला पक्षको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइन्।
कार्यक्रमको संयोजन वडा सदस्य सबी परियारले गरेकी थिइन् भने वडा सदस्य सनकमान सी.के.को विशेष सहयोग रहेको थियो।







सम्बन्धित खवर















