
0Shares
पोखरा। पोखरा लेडी जेसीजद्वारा आयोजना गरिएको ‘जेसीज सप्ताह–२०२६’ युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा समुदाय सेवाको सशक्त सन्देश प्रवाह गर्दै विविध प्रभावकारी कार्यक्रमका साथ सम्पन्न भएको छ ।
“सीप र सेवाः सक्षम व्यक्ति, समृद्ध समाज” भन्ने मूल नारासहित वैशाख २५ देखि ३१ गतेसम्म सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, वित्तीय साक्षरता, महिला सशक्तीकरण तथा सामाजिक चेतनामूलक गतिविधिलाई प्राथमिकतामा राखिएको थियो ।
सप्ताहअन्तर्गत साइबर अपराध तथा बैंकिङ साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, माइन्डफुलनेस तथा वित्तीय साक्षरता तालिम, कृषि स्वास्थ्य सचेतना तथा जैविक मल वितरण, विद्यालयस्तरीय पोषण तथा पोशाक वितरण, लेखा व्यवस्थापन तथा उद्यमशीलता तालिम तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना शिविरलगायत कार्यक्रम सम्पन्न भएका थिए । आयोजकका अनुसार यी कार्यक्रमले समाजका विभिन्न वर्गलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्नुका साथै सामाजिक जागरण अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
जेसीज सप्ताहका मूल संयोजक तथा कार्यकारी उपाध्यक्ष बिनिता के.सी.को नेतृत्वमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न गतिविधिको संयोजन सन्तोषी अर्याल, डा. नमिता अधिकारी, अन्जना सुवेदी, सरिता भुजेल, शारदा लामिछाने, दुर्गा तिलिजा, एलिसा भुजेल तथा समापन समारोह संयोजक सुभद्रा बरालले गरेका थिए । उनीहरूको सक्रियता र समन्वयले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ ।
संस्थाका अध्यक्ष सुनिता गौतम भण्डारीले ‘जेसीज सप्ताह–२०२६’ सामाजिक जागरण र युवा सशक्तीकरणको सन्देश प्रवाह गर्न सफल भएको बताइन् । उनका अनुसार सप्ताहअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमहरूले युवालाई नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समाजसेवाप्रति थप प्रेरित गरेका छन् ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने संघसंस्था, कार्यक्रम संयोजक तथा विभिन्न क्षेत्रका सरोकारवालालाई अध्यक्ष भण्डारीले सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै आभार व्यक्त गरेकी थिइन् ।

कार्यकारी उपाध्यक्ष तथा मूल संयोजक बिनिता के.सी.ले विगत वर्षझैँ यस वर्ष पनि समाजसेवा र नेतृत्व विकासलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले सम्पूर्ण टिमको मेहनत, समर्पण र सक्रिय सहभागिताले सप्ताह सफल बनेको उल्लेख गर्दै भनिन्, “हरेक गतिविधिले युवा नेतृत्व र समाजसेवाको सकारात्मक सन्देश प्रवाह गरेको छ ।”
समापन समारोहका कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोधा रिमालले सामाजिक उत्तरदायित्व र सेवाभावको महत्वमाथि जोड दिँदै महिलाका लागि राजनीति र समाजसेवाको यात्रा अझै चुनौतीपूर्ण रहेको धारणा व्यक्त गरिन् ।
पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले कौशी खेतीको महत्वबारे प्रकाश पार्दै घरको सानो जग्गा वा छतमै उत्पादनशील खेतीमार्फत आत्मनिर्भरता र स्वास्थ्य सचेतना बढाउन सकिने बताए । उनले महानगरपालिकाले गत वर्षदेखि यस अभियानमा सहकार्य गर्दै आएको र यस वर्ष जैविक मल वितरण कार्यक्रममा समेत सहकार्य गरिएको जानकारी दिए ।
मुख्य प्रायोजक वात्सल्य आईभीएफ पोखराका सिनियर कन्सल्टेन्ट डा. टिका गुरुङले सन्तान प्राप्तिमा समस्या भोगिरहेका महिलाका लागि समयमै उचित निदान र उपचार आवश्यक रहेको बताइन् । उनले पोखरा लेडी जेसीजसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा पोखरा जेसीजका अध्यक्ष सुमन पहारी, पूर्व अध्यक्ष एवम् मादी गाउँपालिका–४ का वडाध्यक्ष शिवप्रसाद साप्कोटा, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा कोइराला, संस्थाका पूर्व अध्यक्ष सजना कर्माचार्यलगायतले मन्तव्य राख्दै युवामार्फत समाज रूपान्तरणका अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
संस्थाकी महासचिव जेसी सृजना आलेले समुदायप्रति उत्तरदायी युवाको भूमिका सुदृढ गर्दै प्रत्यक्ष सामाजिक योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । सप्ताहव्यापी गतिविधिले सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई एकसाथ जोड्दै सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्न सफल भएको उनको भनाइ थियो ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर















