रैथाने बालीमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन अन्नपूर्ण गाउँपालिकाद्वारा विद्यालयलाई भाँडाकुँडा हस्तान्तरण
- July 2, 2026
- 171

अन्नपूर्ण, कास्की। विद्यालयस्तरबाटै रैथाने बालीको संरक्षण, पोषणयुक्त दिवा खाजा प्रवर्द्धन तथा कृषि शिक्षालाई व्यवहारसँग जोड्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले पालिकाभित्रका २२ वटा आधारभूत विद्यालयलाई आवश्यक भाँडाकुँडा हस्तान्तरण गरेको छ।
गाउँपालिकाको स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालित ‘रैथाने बाली प्रवर्द्धन कार्यक्रम’ तथा ‘रैथाने खाद्यान्नमा आधारित दिवा खाजा कार्यक्रम’ मार्फत विद्यालयहरूलाई ५० प्रतिशत अनुदानमा सामग्री उपलब्ध गराइएको हो। गाउँपालिकाले यस कार्यक्रममार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्थानीय उत्पादनबाट तयार गरिएका पोषणयुक्त दिवा खाजा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।
गाउँपालिकाद्वारा आयोजित ‘दिवा खाजा कार्यक्रम अन्तर्गत विद्यालयहरूलाई भाँडाकुँडा हस्तान्तरण कार्यक्रम’ मा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विद्यालयस्तरमै कृषि शिक्षालाई व्यवहारमा उतार्ने अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिएको बताए। उनले विद्यार्थीमा उत्पादनमूलक सीप, श्रमप्रतिको सम्मान, स्थानीय खाद्य संस्कृतिप्रतिको अपनत्व तथा आत्मनिर्भर बन्ने संस्कार विकास गर्न यस कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले रैथाने बालीको संरक्षणसँगै स्थानीय उत्पादनको प्रयोग बढाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमले विद्यार्थीको पोषण सुधार्नुका साथै स्थानीय किसानको उत्पादनको बजार सुनिश्चित गर्न पनि टेवा पुग्ने धारणा राखे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई अझ व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन गाउँपालिका निरन्तर सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताए। उनले विद्यालयहरूले उपलब्ध गराइएका सामग्रीको सदुपयोग गर्दै कार्यक्रमलाई दीर्घकालीन र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।
गाउँपालिकाका कृषि अधिकृत जुनु जिमीका अनुसार कार्यक्रममा पालिकाभित्रका २२ वटा आधारभूत विद्यालयलाई फलामका कराही, आल्मुनियमका डेक्ची तथा मिक्स्चर वितरण गरिएको हो। ती सामग्री रैथाने बालीका परिकार तयार गर्न तथा विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमलाई सहज र प्रभावकारी बनाउन प्रदान गरिएको उनले जानकारी दिइन्।
उनका अनुसार सामग्री वितरणअघि विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूलाई रैथाने बालीका परिकार निर्माण, खाद्य विविधीकरण, पोषण व्यवस्थापन तथा स्थानीय कृषि उत्पादनको उपयोगसम्बन्धी दुईदिने क्षमता विकास तालिम सञ्चालन गरिएको थियो। तालिमबाट प्राप्त ज्ञानलाई विद्यालयमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने उद्देश्यले सहभागी विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको हो।
गाउँपालिकाले विद्यालयस्तरमै रैथाने बालीको प्रयोग बढाउँदै विद्यार्थीलाई स्थानीय खाद्य परिकारबारे जानकारी गराउने, पोषणयुक्त आहारको महत्व बुझाउने तथा विद्यालय परिसरमै कृषि गतिविधिलाई प्रोत्साहन गर्ने दीर्घकालीन योजना अघि बढाएको जनाएको छ। यस कार्यक्रमले विद्यार्थीमा कृषि, श्रम, उत्पादन र आत्मनिर्भरताप्रति सकारात्मक सोचको विकास हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष भरतमान गुरुङ, वडा नं. १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी, वडा नं. २ का अध्यक्ष पिताम्बर भण्डारी, ९ का अध्यक्ष रमेश गुरुङ, अन्य जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृषि प्राविधिक मनोज कठायतले गरेका थिए। गाउँपालिकाले आगामी दिनमा पनि रैथाने बालीको उत्पादन, संरक्षण, उपयोग तथा विद्यालय केन्द्रित पोषण कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने जनाएको छ।



























