नेपालका लागि गौरवको क्षण : अन्तर्राष्ट्रिय निर्देशकका उम्मेदवार राजन लम्साललाई पूर्व अन्तर्राष्ट्रिय निर्देशक खेतानको बलियो समर्थन
- July 4, 2026
- 153

हङकङमा जारी लायन्स अन्तर्राष्ट्रिय सम्मेलनमा राजन लम्सालको प्रतिबद्धता– ‘नयाँ पुस्तालाई आकर्षित गर्दै प्रविधिमैत्री सेवामार्फत लायनवादलाई थप सशक्त बनाउँछु’
हङकङ । हङकङमा जारी लायन्स अन्तर्राष्ट्रियको १०८औँ अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत शुक्रबार उम्मेदवारहरूको परिचय कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लायन्स क्लब्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक इन्जिनियर संजय खेतानले अन्तर्राष्ट्रिय निर्देशक पदका नेपालबाट इन्डोर्स गरिएका उम्मेदवार लायन राजन लम्सालको परिचय गराउँदै यसलाई नेपालका लागि ऐतिहासिक तथा गौरवपूर्ण अवसरको रूपमा चित्रण गरेका छन्।
खेतानले लम्सालले जीएमटी (GMT), जीएलटी (GLT), मल्टिपल डिस्ट्रिक्ट संयोजकलगायत लायन्सका विभिन्न महत्वपूर्ण नेतृत्वदायी जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उनी अनुभवी, दूरदर्शी र सेवाप्रति समर्पित नेतृत्वकर्ता भएको बताए।
उनले लम्सालको सफल यात्रामा उनकी धर्मपत्नी इन्दु लम्सालको निरन्तर साथ, सहयोग र प्रेरणा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनी पूर्व डिस्ट्रिक्ट गभर्नर तथा गुडविल एम्बासडरसमेत रहेको जानकारी दिए।
उक्त अवसरमा आफ्नो धारणा राख्दै अन्तर्राष्ट्रिय निर्देशक पदका इन्डोर्सी उम्मेदवार लायन राजन लम्सालले विश्वभरका लायन्स सदस्यप्रति नेपालको तर्फबाट हार्दिक अभिवादन व्यक्त गरे। उनले नेपाल भगवान बुद्धको जन्मभूमि र हिमालयको देश भएको स्मरण गराउँदै अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवारी प्रस्तुत गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको बताए।
लम्सालले आफ्नो प्राथमिकता सदस्य संख्या वृद्धि मात्र नभई लायनवादलाई नयाँ पुस्ताका लागि अझ आकर्षक, समावेशी र प्रभावकारी बनाउने रहेको स्पष्ट पारे। उनले नयाँ सदस्यलाई सशक्त बनाउने, आधुनिक प्रविधिको अधिकतम उपयोग गरी सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने तथा आफ्नो क्षेत्रको सेवाभावी भावना र अनुभवलाई अन्तर्राष्ट्रिय बोर्डसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
मन्तव्यको अन्त्यमा उनले आफूलाई अन्तर्राष्ट्रिय निर्देशकका रूपमा निर्वाचित गराउन विश्वभरका लायन्स सदस्यसँग सहयोग, समर्थन र विश्वासको विनम्र आग्रह गरेका थिए।



























