
पोखरा, असार २३— गण्डकी प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रा. डा. कुसुमाकर न्यौपाने नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले प्रा.डा. न्यौपानेलाई कुलपतिमा नियुक्त गरेको हो । त्यसैगरी प्रतिष्ठानको उपकुलपतिमा शंकर विरही गुरुङ र सदस्य–सचिवमा मनकुमार श्रेष्ठ नियुक्त भएका छन्।
गण्डकी प्राज्ञ प्रतिष्ठान ऐन, २०७६ बमोजिम सामाजिक विकास मन्त्री रेखा गुरुङको संयोजकत्वमा गठित समितिको सिफारिसमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई नियुक्त गरेका हुन् । प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकाल ४ वर्षको रहने छ । यसअघि साहित्यकार सूर्य खड्का बिखर्चीको नेतृत्वमा गठित पदाधिकारीहरुको कार्यकाल १३ महिना अघि सकिएको थियो । प्रतिष्ठान विगत १३ महिनादेखि नेतृत्व विहीन थियो ।
नवनियुक्त पदाधिकारीहरूलाई बधाई दिँदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा प्रतिष्ठानले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले नयाँ नेतृत्वले सिर्जनशीलता, अनुसन्धान र मौलिक संस्कृतिको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा पनि व्यक्त गरेका छन् ।
यस अवसरमा भाषा, साहित्य, कला, संगीत, संस्कृति तथा लोकपरम्पराका क्षेत्रमा योगदान पुर्याएका २१ जना व्यक्तित्वलाई गण्डकी प्राज्ञ सभाको सदस्यमा मनोनयन गरिएको छ।
मनोनीत सदस्यहरूमा अनुराग अधिकारी, इन्द्रमान खत्री, ईश्वरीप्रसाद भुषाल, प्रा। डा। ईश्वरचन्द्र वाग्ले, कमलप्रसाद पौडेल ‘अथक’, कृष्णकुमार गुरुङ, गायत्री पराजुली, चोलेन्द्र पौडेल, दुर्गादेवी पौडेल आचार्य, पवित्रा घिमिरे, बाबुराम बरालकोटी, बालकाशी गुरुङ, भूपेन्द्र वानियाँ, राममति जोजिजु, राजनीप्रसाद पौडेल, बसन्त अधिकारी, डा। विरेन्द्र पण्डितौनी, शान्ता बास्तोला, शान्ति भुषाल, सज्जु महतो ‘घनेत’ तथा हरिमाया श्रेष्ठ रहेका छन्।
नवनियुक्त कुलपति, उपकुलपति, सदस्य–सचिव तथा मनोनीत प्राज्ञ सभा सदस्यहरूलाई साहित्यिक, सांस्कृतिक तथा बौद्धिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
भाषा, साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यसहित स्थापित गण्डकी प्राज्ञ प्रतिष्ठानले नयाँ नेतृत्वसँगै आफ्ना गतिविधिलाई अझ प्रभावकारी, सिर्जनशील र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
प्रा. डा. कुसुमाकर न्यौपाने को हुन् ?
प्रा. डा. कुसुमाकर न्यौपाने नेपाली लोकसाहित्य, लोकसंस्कृति तथा नेपाली वाङ्मयका प्रतिष्ठित अध्येता, अनुसन्धानकर्ता एवं प्राध्यापक हुन् । त्रिभुवन विश्वविद्यालयबाट निवृत्त प्रा.डा. न्यौपानले लोकसाहित्यमा विद्यावारिधी गरेका छन् । लोकपरम्परा, मौखिक साहित्य, संस्कृति र नेपाली समाजको अध्ययन–अनुसन्धानमा निरन्तर क्रियाशील रहेका प्रा.डा. न्यौपानेले गन्धर्व संस्कृतिको अध्ययन गर्दा सारंगी बजाउँदै हिड्ने गर्दथे । तत्कालीन अवस्थामा उनका सहकर्मी प्राध्यापकहरुले उनलाई गाइने प्राध्यापकको उपमा समेत दिएका थिए ।
उनका दर्जनौ अनुसन्धानमूलक कृतिहरु समेत प्रकाशित छन् । गण्डकी प्राज्ञ प्रतिष्ठानको कुलपतिमा उनको नियुक्तिलाई प्राज्ञिक तथा सांस्कृतिक क्षेत्रले सकारात्मक रूपमा लिएको छ। उनको गहन विद्वत्ता, अनुसन्धानप्रतिको समर्पण, सिर्जनशील नेतृत्व र सांस्कृतिक दृष्टिले प्रतिष्ठानलाई नयाँ उचाइमा पुर्याउने विश्वास छ । विशेषतः गण्डकी प्रदेशको समृद्ध भाषा, साहित्य, लोकसंस्कृति, मौलिक ज्ञान–परम्परा तथा स्रष्टाहरूको सम्मान, संरक्षण र प्रवर्द्धनमा उनको नेतृत्व ऐतिहासिक रूपमा फलदायी हुने अपेक्षा गरिएको छ।
उनको नेतृत्वमा गठित सम्पूर्ण टोलीको कार्यकाल ज्ञान, अनुसन्धान, सिर्जना र सांस्कृतिक पुनर्जागरणको स्वर्णिम अध्याय बन्ने विश्वासका साथ उनको नेतृत्वमा गठित सम्पूर्ण नवनियुक्त पदाधिकारीहरूलाई सामाजिक सञ्जालमार्फत् बधाई तथा शुभकामानो ओइरो लागेको छ ।
















