0Shares

पोखरा । गण्डकी प्रदेश सरकारले लोकसाहित्य, भाषा, कला तथा संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका स्रष्टाहरूलाई समेट्दै गण्डकी प्राज्ञ सभालाई पूर्णता दिएको छ। सोही क्रममा लोकसाहित्यको क्षेत्रमा लामो समयदेखि सक्रिय गायत्री अधिकारी पराजुली प्राज्ञ सभा सदस्यमा मनोनित भएकी छन्।

गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानको रिक्त नेतृत्व र सदस्यहरू नियुक्त गर्दै प्रतिष्ठानको कुलपतिमा लोकसाहित्यका विज्ञ प्रा. डा. कुसुमकुमार (कुसुमाकर) न्यौपानेलाई नियुक्त गरेको छ। यस्तै, उपकुलपतिमा शंकर विरही गुरुङ तथा सदस्य–सचिवमा मनकुमार श्रेष्ठ नियुक्त भएका छन्। प्राज्ञ सभा सदस्यका रूपमा साहित्य, संगीत, संस्कृति, लोकसाहित्य, चित्रकला, मूर्तिकला, चलचित्र, लोकदोहोरीलगायत २४ विधाका विज्ञहरूलाई समेटिएको छ। तीमध्ये गुरुङ उपकुलपति र श्रेष्ठ सदस्य–सचिव बनेका हुन्। गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ बमोजिम नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्यकाल चार वर्षको रहनेछ।

प्राज्ञ सभा सदस्यमा मनोनित गायत्री पराजुली पोखरा महानगरपालिका–४, चिप्लेढुङ्गा निवासी हुन्। नेपाली विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेकी उनी एसओएस हर्मन माइनर विद्यालयको रिटायर शिक्षक हुन् । लोकसाहित्य, लोकसंस्कृति तथा नेपाली साहित्यको संरक्षण, अनुसन्धान र प्रवर्द्धनमा उनको सक्रिय भूमिका रहँदै आएको छ।

पराजुलीका प्रकाशित कृतिहरूमा ‘कृष्ण कथा तथा भजन’ (२०७८), ‘तीजपर्वको तरङ्ग’ (२०८१)‘आक्रोश’ (मुक्तक सङ्ग्रह, २०८१) रहेका छन्। उनका यी कृतिहरूले धार्मिक, सांस्कृतिक तथा सामाजिक विषयवस्तुलाई साहित्यिक रूपमा प्रस्तुत गरेका छन्।

सिर्जनात्मक लेखनसँगै उनी लोकसंस्कृतिको अध्ययन–अनुसन्धानमा पनि उत्तिकै सक्रिय छिन्। उनले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका लागि ‘गण्डकी प्रदेशका परम्परागत सङ्गीत’ विषयमा अनुसन्धान सम्पन्न गरेकी छन्। यस अध्ययनले गण्डकी प्रदेशका मौलिक लोकसङ्गीतको संरक्षण र दस्तावेजीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ।

देशका विभिन्न स्थानमा आयोजित राष्ट्रिय तथा प्रादेशिक गोष्ठीहरूमा उनले लोकसाहित्य र लोकसंस्कृतिसम्बन्धी विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दै आएकी छन्। ‘भाव सौन्दर्यका दृष्टिले रत्यौली गीत’, ‘रत्यौली गीतमा समानता र विभेद’, ‘खस–आर्य समुदायमा श्रीकृष्ण चरित्र बालन’, ‘कास्कीकोटमा राग मालश्री’, ‘मुस्ताङ जिल्लाका नाच’, ‘कास्कीकोटमा कुँवरद्वारा खेलिने सराएँ’ तथा ‘कर्णाली प्रदेश दैलेख जिल्लाको बालाराजा काशीरामको भारत’ जस्ता विषयमा उनका अनुसन्धानमूलक प्रस्तुतिहरू चर्चित छन्।

पराजुली लोकवार्ता परिषद् नेपाल, बालन एवम् कला संस्कृति प्रतिष्ठान नेपाल, सप्तरङ्गी साहित्य समाज, सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, लायन्स क्लब अफ पोखरा गण्डकी तथा समाज सेवा समिति, पोखरा–४ लगायतका विभिन्न साहित्यिक, सांस्कृतिक र सामाजिक संस्थामा आबद्ध रहेर निरन्तर सक्रिय छिन्।

लोकसाहित्य र संस्कृतिको संरक्षण तथा अनुसन्धानमा निरन्तर योगदान दिँदै आएकी पराजुलीलाई गण्डकी प्राज्ञ सभा सदस्यमा मनोनयन गरिनुलाई लोकसाहित्य क्षेत्रकै सम्मानका रूपमा हेरिएको छ। साहित्यकार तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूले उनको नियुक्तिले गण्डकी प्रदेशको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected