0Shares

पोखरा ।  नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत तनहुँको देवघाटधामस्थित श्री देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) लाई रु ८८ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय गण्डकी, पोखरा र नेपाल टेलिकम पोखराको समन्वयमा आयोजित कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङ र नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख तथा उप–प्रबन्धक प्रेमराज ढुंगानाले संयुक्त रूपमा वृद्धाश्रमका व्यवस्थापक देबु अधिकारीलाई सहयोग सामग्री हस्तान्तरण गरे।

कार्यक्रममा उपाध्यक्ष गुरुङले देवघाट क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व उल्लेख गर्दै नेपाल टेलिकमले सामाजिक उत्तरदायित्वमार्फत पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे। उनले देवघाट क्षेत्रमा दूरसञ्चार सेवाको थप विस्तार आवश्यक रहेको औंल्याउँदै गुणस्तरीय सेवा विस्तार गर्न आग्रह गरे।

कार्यालय प्रमुख ढुंगानाले देवघाटजस्तो पवित्र तीर्थस्थलमा सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सहयोग गर्न पाउनु गौरवको विषय भएको बताए। उनले नेपाल टेलिकमले व्यावसायिक सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै स्वदेशी दूरसञ्चार सेवाको प्रयोग बढाउन आग्रह गरे।

वृद्धाश्रमका व्यवस्थापक देबु अधिकारीले नेपाल टेलिकमको सहयोगप्रति आभार व्यक्त गरे। कार्यक्रममा देवघाटका शिक्षासेवी अर्जुन सुवेदीले टेलिकमको सामाजिक उत्तरदायित्व कार्यक्रम उदाहरणीय रहेको भन्दै धन्यवाद ज्ञापन गरे।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय गण्डकीका प्रशासकीय अधिकृत दिनेशमणि लामिछानेले सञ्चालन गरेको कार्यक्रममा प्रशासकीय अधिकृत सुदीप आचार्य, दमौली कार्यालय प्रमुख भीमसेन विश्वकर्मा, पोखराका व्यापार प्रमुख विजय खनाललगायत नेपाल टेलिकमका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected