उद्योगको वास्तविक अभ्याससँग मनोविज्ञान अध्ययन जोड्न पद्मकन्या क्याम्पसका विद्यार्थी पोखरामा

पोखरा। पद्मकन्या क्याम्पस, काठमाडौंअन्तर्गत स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा औद्योगिक तथा संगठनात्मक मनोविज्ञान (Industrial and Organizational Psychology) अध्ययनरत विद्यार्थीहरूले उद्योगको वास्तविक कार्यप्रणालीसँग सैद्धान्तिक ज्ञानलाई जोड्ने उद्देश्यले पोखरामा दुईदिने शैक्षिक अध्ययन–अवलोकन भ्रमण सम्पन्न गरेका छन्।
२०८३ साउन २५ र २६ गते सम्पन्न कार्यक्रममा २० जना विद्यार्थी सहभागी थिए। मनोविज्ञान विभागका प्राध्यापक पदम राज जोशी, उपासना अधिकारी र प्रबिन पाण्डेको नेतृत्वमा सम्पन्न भ्रमणले विद्यार्थीहरूलाई उद्योगभित्रको संगठनात्मक संरचना, नेतृत्व प्रणाली, मानव स्रोत व्यवस्थापन, कर्मचारी उत्प्रेरणा, कार्यसम्पादन मूल्याङ्कन तथा औद्योगिक मनोविज्ञानको व्यवहारिक प्रयोगबारे प्रत्यक्ष अनुभव दिलाएको थियो।
पाठ्यक्रमअनुसार सञ्चालन गरिएको भ्रमणका क्रममा विद्यार्थीहरूले पोखरा औद्योगिक क्षेत्रमा सञ्चालित सुजल डेरी प्रा.लि., पोखरा फूड्स प्रा.लि., गोशाली प्रिन्ट प्याक प्रा.लि. तथा हिमालय लाइफ प्लास्टिक प्रा.लि. को स्थलगत अवलोकन गरेका थिए। उद्योगहरूको उत्पादन प्रक्रिया, व्यवस्थापन प्रणाली, कार्यसंस्कृति, कर्मचारी व्यवस्थापन तथा बजार रणनीतिबारे उद्योगका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै विद्यार्थीहरूले व्यावहारिक ज्ञान हासिल गरेका थिए।

भ्रमणका संयोजक प्राध्यापक पदम राज जोशीका अनुसार कक्षाकोठामा अध्ययन गरिएका सिद्धान्तहरू वास्तविक कार्यस्थलमा कसरी कार्यान्वयन गरिन्छ भन्ने विषय विद्यार्थीहरूले नजिकबाट बुझ्ने अवसर पाएका छन्। उनले उद्योगसँगको प्रत्यक्ष सम्पर्कले विद्यार्थीहरूको विश्लेषणात्मक क्षमता, अनुसन्धानमुखी सोच र व्यावसायिक दक्षता अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
पोखरा फूड्स प्रा.लि.का सञ्चालक श्रीराम पाण्डेले उद्योग सञ्चालनका चुनौती, अवसर, कर्मचारी व्यवस्थापन, कार्यस्थलको अनुशासन, उत्पादन गुणस्तर, उद्योगका उत्पादन तथा पछिल्लो समय बढ्दो प्रतिस्पर्धात्मक बजारका विषयमा जानकारी गराएका थिए। उनले गुणस्तरीय उत्पादन, प्रभावकारी व्यवस्थापन र दक्ष जनशक्तिबीचको सम्बन्धबारे पनि विद्यार्थीहरूसँग अनुभव आदानप्रदान गरेका थिए।

सुजल डेरी प्रा.लि.का मानव संसाधन प्रमुख अमृत तिमिल्सिनाले दुग्ध उद्योगको उत्पादन प्रक्रिया, किसानसँगको सहकार्य, मानव स्रोत व्यवस्थापन तथा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) सम्बन्धी अभ्यासबारे प्रस्तुति दिएका थिए। उनले किसानलाई नियमित अभिमुखीकरण, गुणस्तरीय दूध उत्पादन तथा कर्मचारी विकासका कार्यक्रम उद्योगको सफलताका महत्वपूर्ण आधार भएको बताए।
गोशाली प्रिन्ट प्याक प्रा.लि.का प्रबन्धक दीपक समीपले कम्पनीका उत्पादन, आधुनिक प्रिन्टिङ प्रविधि, बजार विस्तारका रणनीति तथा प्रतिस्पर्धात्मक वातावरणमा उद्योगले अवलम्बन गरेका नीतिबारे जानकारी गराएका थिए। त्यस्तै हिमालय लाइफ प्लास्टिक प्रा.लि.का प्रतिनिधिले प्लास्टिक पुनःप्रयोग (रिसाइक्लिङ), वातावरणीय संरक्षण, दिगो उत्पादन प्रणाली तथा उद्योगको सामाजिक उत्तरदायित्वका विषयमा विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए।

भ्रमणलाई प्रभावकारी बनाउन पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले आवश्यक समन्वय तथा सहजीकरण गरेको थियो। कार्यालय प्रमुख रमेश प्रसाद नेपालले पोखरा औद्योगिक क्षेत्रको स्थापना, विकासक्रम, वर्तमान अवस्था, सञ्चालनमा रहेका उद्योगहरूको प्रकृति, उत्पादन क्षमता, रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा औद्योगिक क्षेत्रले पुर्याएको योगदानबारे विस्तृत जानकारी दिएका थिए। उनले उद्योग र शैक्षिक संस्थाबीचको सहकार्यले दक्ष तथा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।
भ्रमणका क्रममा विद्यार्थीहरूले उद्योग सञ्चालनका विविध पक्षमा जिज्ञासा राख्दै संगठनात्मक व्यवहार, नेतृत्व शैली, कर्मचारी प्रेरणा, कार्यस्थलको मनोविज्ञान तथा औद्योगिक व्यवस्थापनका व्यवहारिक पक्षबारे जानकारी लिएका थिए। सहभागी विद्यार्थीहरूले वास्तविक कार्य वातावरणमा पुगेर अध्ययन गर्दा सिकाइ अझ प्रभावकारी बनेको प्रतिक्रिया दिएका थिए। उनीहरूका अनुसार कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा कसरी रूपान्तरण गरिन्छ भन्ने प्रत्यक्ष अनुभवले भविष्यको अनुसन्धान, पेशागत अभ्यास तथा करियर विकासका लागि महत्वपूर्ण आधार तयार गरेको छ।
कार्यक्रमको समापनमा पद्मकन्या क्याम्पसको टोलीले पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय तथा अध्ययन–अवलोकनका लागि सहयोग पुर्याउने सुजल डेरी प्रा.लि., पोखरा फूड्स प्रा.लि., गोशाली प्रिन्ट प्याक प्रा.लि. र हिमालय लाइफ प्लास्टिक प्रा.लि.प्रति आभार व्यक्त गरेको थियो।
व्यवहारिक सिकाइलाई प्राथमिकता दिँदै आयोजना गरिएको यो अध्ययन भ्रमणले शिक्षा र उद्योगबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको सहभागीहरूको निष्कर्ष छ। उनीहरूका अनुसार यस्ता कार्यक्रमले विश्वविद्यालयमा हासिल गरिएको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग पुर्याउनुका साथै दक्ष, व्यावसायिक र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।
















