0Shares

अन्नपूर्ण, कास्की।  कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रोङ खोलामा आइतबार दिउँसो परेको अविरल वर्षापछि आएको भीषण बाढीले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने महत्वपूर्ण झोलुङ्गे पुल बगाएको छ। पुल बगेसँगै घान्द्रुक–छोम्रोङ हुँदै अन्नपूर्ण आधार शिविर (एबीसी) जाने पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने स्थानीयवासी, पदयात्री तथा स्वदेशी–विदेशी पर्यटकको आवतजावत प्रभावित भएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार आइतबार करिब दिउँसो ३:३० बजे वर्षासँगै आएको बाढीले अन्नपूर्ण क्षेत्रका विभिन्न वडा, पर्यटकीय क्षेत्र तथा स्थानीय बासिन्दामा प्रत्यक्ष असर पुर्याएको हो। उनका अनुसार किम्रुङ खोला माथिल्लो भेगबाट अत्यन्त ठाडो भूभाग हुँदै बग्ने भएकाले पहिरोसँगै ढुंगा, माटो, रुखबिरुवा तथा बुट्यान मिसिएको ठूलो भेल एकैपटक तल झर्दा बाढीको वेग असाध्यै बढेको थियो, जसका कारण झोलुङ्गे पुल जोगाउन सम्भव भएन।

बाढीको प्रभाव अन्नपूर्ण गाउँपालिका–८ र १० को स्याउली बजार क्षेत्रमा समेत परेको छ। गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार स्थानीय दिलीप गुरुङको रेस्टुरेन्ट तथा घर पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा क्षति पुगेको छ। अन्य केही घरहरू पनि जोखिममा रहेका छन्।

यस्तै, विरेठाँटी क्षेत्रमा मोदी खोलाको बाढी पिच सडकसम्म पुगेपछि सडक कटान भएको छ र घान्द्रुक जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले सडक, पुल, घर तथा खेतीयोग्य जमिनमा समेत व्यापक क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

वडा नं. ११ का अध्यक्ष हिमबहादुर गुरुङका अनुसार पुल बगेसँगै अन्नपूर्ण पदमार्गको महत्वपूर्ण पैदल मार्ग अवरुद्ध भएको छ, जसका कारण स्थानीयवासी र पर्यटक दुवै समस्यामा परेका छन्। उक्त पुल अन्नपूर्ण पदमार्गको महत्वपूर्ण सम्पर्क संरचनामध्ये एक मानिन्थ्यो।

घटनापछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, पालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, वडा नं. १० का अध्यक्ष गौतम गुरुङ, वडा नं. २ का अध्यक्ष पीताम्बर भण्डारी, वडा नं. ९ का अध्यक्ष रमेश गुरुङ, वडा नं. ८ का कार्यवाहक अध्यक्ष गौमाया नेपाली, जनप्रतिनिधिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन, निरीक्षण तथा आवश्यक व्यवस्थापनमा जुटेको छ।

सम्बन्धित निकायले क्षतिको विस्तृत मूल्याङ्कन सुरु गर्ने तथा आवतजावत सहज बनाउन अस्थायी वा नयाँ पुल निर्माणको पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। यसैबीच, लगातारको वर्षासँगै मोदी खोलाको जलसतह पनि तीव्र रूपमा बढेकाले गाउँपालिकाले नदी तथा खोला किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नदी किनारमा नजान, आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा अत्यावश्यक कामबाहेक आज र भोलि यात्रा नगर्न अनुरोध गरिएको छ। मौसममा अझै सुधार नआएकाले सबैलाई विशेष सावधानी अपनाउन गाउँपालिका अध्यक्ष केसीले आग्रह गरेका छन्। स्थानीय सरकार तथा सुरक्षा निकायले प्रभावित क्षेत्रको निरन्तर अनुगमन गरिरहेको जनाउँदै सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै सुरक्षित रहन सबैमा अपिल गरेका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected