0Shares

काठमाडौं — बाढीबाट प्रभावित नागरिकलाई सञ्चार सम्पर्कमा सहजता प्रदान गर्न नेपाल टेलिकमले प्रभावित क्षेत्रमा रहेका सेवाग्राहीलाई दुई दिनसम्म निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस उपलब्ध गराउने भएको छ।

टेलिकमका अनुसार विपद्का कारण परिवार, उद्धार टोली तथा सम्बन्धित निकायसँग सम्पर्क गर्न कठिनाइ नहोस् भन्ने उद्देश्यले प्रभावित सेवाग्राहीलाई उक्त सुविधा उपलब्ध गराउन लागिएको हो।

रसुवा र नुवाकोटका सात टावरमा क्षति

बाढीका कारण नेपाल टेलिकमको दूरसञ्चार पूर्वाधारमा समेत क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार रसुवाका दुई र नुवाकोटका पाँच गरी सातवटा टेलिकम टावर प्रभावित भएका छन्।

त्यसैगरी, गल्छीदेखि रसुवा सीमासम्मको फाइबर लिंकमा समेत बाढीले क्षति पुर्‍याएको टेलिकमले जनाएको छ। फाइबर लिंक तथा टावरमा क्षति भएपछि प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध तथा कमजोर भएको छ।

सेवा पुनःस्थापनामा प्राविधिक टोली परिचालन

क्षतिग्रस्त संरचनाको मर्मत गरी सेवा यथाशीघ्र नियमित गर्न नेपाल टेलिकमले प्राविधिक टोली परिचालन गरेको छ। टोलीले प्रभावित क्षेत्रमा पुगेर क्षतिको अवस्था मूल्याङ्कन गर्दै मर्मतसम्भारको कामलाई तीव्रता दिएको कम्पनीले जनाएको छ।

यसैबीच, टेलिकमले बाढी प्रभावित तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई एसएमएसमार्फत सतर्कता अपनाउन आग्रह गरेको छ। विपद्का बेला आवश्यक सूचना प्रवाहलाई प्रभावकारी बनाउन सचेतनामूलक रिङब्याक टोनसमेत सञ्चालन गरिएको छ।

बाढीका कारण सडक तथा अन्य भौतिक पूर्वाधारसँगै सञ्चार सञ्जालसमेत प्रभावित भइरहेका बेला टेलिकमको निःशुल्क कल, डाटा र एसएमएस सुविधाले प्रभावित नागरिकलाई आपत्कालीन सम्पर्क कायम गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected