त्रिशूली बाढी : राहतसँगै ‘सुरक्षित छानो’को खाँचो, आश्रयस्थल निर्माणमा लायन्सको जोड

नुवाकोट । त्रिशूली नदी तथा यसका सहायक नदीमा आएको असाधारण बाढीले रसुवादेखि चितवनसम्म ठूलो धनजनको क्षति पुर्याएपछि बाढी प्रभावितका लागि खाद्यान्न र लत्ताकपडाको राहतसँगै सुरक्षित आश्रयस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवाज उठेको छ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई, नेपालका क्याबिनेट सेक्रेटरी लायन अनुज कुमार श्रेष्ठले विपद्का बेला तत्काल राहत सामग्री वितरण आवश्यक भए पनि घरबार गुमाएका तथा विस्थापित परिवारका लागि अस्थायी तथा स्थायी आश्रयस्थल निर्माणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
उनका अनुसार विभिन्न सामाजिक संघसंस्था तथा स्वयंसेवी निकायले खाद्यान्न, लत्ताकपडालगायत सामग्री वितरण गरिरहेका छन्। यस्ता सहयोगले तत्कालको आवश्यकता पूरा गरे पनि बाढीका कारण विस्थापित परिवारलाई सुरक्षित छानो उपलब्ध गराउनु दीर्घकालीन रूपमा अझ महत्वपूर्ण हुने उनको भनाइ छ।

“राहत सामग्री तत्कालका लागि आवश्यक छ। तर घरबार गुमाएका परिवारलाई सुरक्षित बस्ने ठाउँ दिनु अझ महत्वपूर्ण कुरा हो। त्यसैले अब राहतसँगै अस्थायी आश्रयस्थल निर्माण र सम्भव भएसम्म स्थायी पुनःस्थापनातर्फ ध्यान दिनुपर्छ,” श्रेष्ठले भने।
बाढीका कारण रसुवादेखि चितवनसम्मका विभिन्न पक्की पुल बग्दा आवागमन प्रभावित भएको छ। कतिपय स्थानमा सडक तथा पुलको सम्पर्क विच्छेद हुँदा नदीपारिका बस्तीमा रहेका प्रभावितसम्म राहत तथा उद्धार पुर्याउन चुनौती देखिएको छ।
श्रेष्ठले राहत तथा सेवा कार्यहरू धेरैजसो सहज पहुँच भएका नदीवारिका क्षेत्रमा केन्द्रित भइरहेको उल्लेख गर्दै नदीपारिका प्रभावितलाई प्राथमिकतामा राखेर उद्धार तथा राहतको विशेष योजना बनाउनुपर्ने बताए।
“जहाँ पुग्न कठिन छ, त्यहाँ सेवा अझ बढी आवश्यक हुन्छ। नदीपारि उद्धारको पर्खाइमा रहेका प्रभावितसम्म पुग्न सुरक्षा निकाय, प्रशासन र सामाजिक संघसंस्थाबीच तत्काल प्रभावकारी समन्वय आवश्यक छ,” उनले भने।
लायन्सले बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सूचना प्रवाह, राहत तथा उद्धार सहयोग, खाना वितरण, स्वास्थ्य सेवा तथा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। लायन्सका स्वयंसेवकहरू प्रभावित क्षेत्रमा समूह बनाएर परिचालित छन्।

श्रेष्ठका अनुसार बाढी प्रभावितका लागि खाना खुवाउने तथा आवश्यक राहत सहयोगका कार्यसमेत भइरहेको छ। तर अब राहत कार्यलाई खाद्यान्न र लत्ताकपडा वितरणमा मात्र सीमित नराखी सुरक्षित आश्रय, पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणसँग जोड्न आवश्यक छ।
लगातारको वर्षा र नदीको जलसतहमा आएको वृद्धिका कारण त्रिशूली तथा आसपासका तटीय क्षेत्र अझै जोखिममा रहेकाले नदी किनारमा अनावश्यक गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। उच्च जोखिममा रहेका बस्तीका परिवारलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा स्थानान्तरण गर्न स्थानीय तह र सुरक्षा निकायले विशेष पहल गर्नुपर्ने लायन्सको भनाइ छ।
बाढी र पहिरोका कारण सडक तथा राजमार्गसमेत जोखिममा रहेकाले अत्यावश्यकबाहेकका यात्रा स्थगित गर्न र यात्रा गर्नैपरे मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
विपद्का समयमा स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघसंस्था, युवा क्लब, आमा समूह तथा टोल सुधार समितिबीच प्रभावकारी समन्वय आवश्यक रहेको श्रेष्ठले बताए। उनले रातको समयमा समेत जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन र सम्भावित जोखिमबारे तत्काल सूचना आदानप्रदान गर्न आग्रह गरे।
“विपद्को समयमा धैर्यता, संयम र पारस्परिक सहयोग नै सबैभन्दा ठूलो शक्ति हो। अहिले प्रभावित परिवारलाई राहत मात्र होइन, सुरक्षित बास र भविष्यको सुनिश्चितता आवश्यक छ,” श्रेष्ठले भने, “त्यसैले सबै सामाजिक संघसंस्था, स्थानीय तह, सरकारी निकाय र सहयोगी हातहरूलाई राहतसँगै आश्रयस्थल निर्माण तथा पुनःस्थापनामा जुट्न अपिल गर्दछौँ।”
लायन्स इन्टरनेशनलले विपद्को यस कठिन घडीमा प्रभावितको उद्धार, राहत, स्वास्थ्य तथा पुनःस्थापनाका कार्यमा निरन्तर सहकार्य गर्ने जनाएको छ।













