0Shares

पोखरा, २४ भदौ । भोटेकोशीमा आएको बाढीले जनजीवन प्रभावित भइरहेका बेला पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले राहत तथा पुनःस्थापनाका लागि सामाजिक उत्तरदायित्वसहितको पहल अघि बढाएको छ।

टेवानले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ। संघले भदौ १४ गते आयोजना गर्ने तयारी गरेको तीजको दर खाने कार्यक्रम रद्द गरी त्यसका लागि छुट्याइएको रकम राहत कोषमा जम्मा गरेको अध्यक्ष शोभा पाण्डेले जानकारी दिइन्।

हरेक वर्ष तीजको अवसरमा पोखराको बाराहीघाटमा आयोजना हुँदै आएको तीज सांस्कृतिक महोत्सव तथा उद्यमी मेला पनि यस वर्ष स्थगित गरिएको छ। विपद्को समयमा उत्सवभन्दा पीडितको साथमा उभिनु प्राथमिकता भएको भन्दै संघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो।

“यस्तो परिस्थितिमा मेला आयोजना गर्न उपयुक्त नहुने ठानेर पूर्वनिर्धारित कार्यक्रम पनि स्थगित ग¥यौं,” अध्यक्ष पाण्डेले भनिन्, “आगामी वर्ष निरन्तरता दिनेछौं।”

टेवानले बाढीबाट प्रभावितको उचित व्यवस्थापन, बेपत्ताको खोजी, घाइतेको प्रभावकारी उपचार तथा मृतकका परिवारलाई समयमै राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ। विपद्को यो कठिन घडीमा सम्पूर्ण नेपाली एकताबद्ध भएर प्रभावितको उद्धार र राहतमा जुट्नुपर्ने संघको भनाइ छ।

यसैबीच, बाढीको असर भोटेकोशी क्षेत्रमा सीमित रहेकाले अन्य पर्यटकीय गन्तव्यहरू सुरक्षित रहेको सन्देश विश्व बजारमा पुर्‍याउनुपर्नेमा पनि टेवानले जोड दिएको छ। पर्यटकीय क्षेत्र सुरक्षित रहेको स्पष्ट सन्देश प्रवाह गर्दै विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने वातावरण निर्माण गर्न सरकारले तत्काल पहल गर्नुपर्ने अध्यक्ष पाण्डेको भनाइ छ।

टेवानको यो निर्णयले विपद्को समयमा पर्यटन क्षेत्रले मनोरञ्जन र व्यवसायभन्दा माथि उठेर मानवीय संवेदनालाई प्राथमिकता दिन सक्ने उदाहरण प्रस्तुत गरेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected