
काठमाडौं । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा गएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले सरकारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १ करोड रुपैयाँ बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो।
चेक हस्तान्तरण कार्यक्रममा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरू सहभागी थिए।
केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीपहिरोका कारण कैयौँ परिवार विस्थापित भएका छन् भने सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ।
विपद्को यस घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित आवासको व्यवस्था गर्न सहयोग पुर्याउने उद्देश्यले पार्टीले सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएको महामन्त्री पौडेलले बताए।
रकम हस्तान्तरण गर्दै पौडेलले संकटको समयमा नेपाली कांग्रेस बाढीपहिरोबाट प्रभावित नागरिकको साथमा रहेको बताए।
उनले बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका तथा अलपत्र नागरिकको उद्धारमा भएको ढिलाइप्रति समेत गम्भीर चिन्ता व्यक्त गरे।
“सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु,” पौडेलले भने।
उनले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित नागरिकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरे। साथै राहत वितरणमा पारदर्शिता कायम गर्न र समग्र विपद् व्यवस्थापनलाई थप चुस्त तथा प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।
बेपत्ताको खोजी, विस्थापित नागरिकको दीर्घकालीन पुनर्स्थापना तथा विपद् व्यवस्थापनमा सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न कांग्रेस तयार रहेको पौडेलले प्रतिबद्धता व्यक्त गरे।
कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अन्य सहयोगका लागि पार्टीका विभिन्न संरचना परिचालन गर्दै आएको जनाएको छ। सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव, सल्लाह र दबाब दिनेलगायतका काम भइरहेका छन् भने थापा स्वयंले दुईपटक प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरिसकेका छन्।







