
पोखरा, २२ भदौ । तीन पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएकी छन्। संघको ३६औँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित गौतमले ७ सय ५१ मत प्राप्त गरिन्। उनको विजयसँगै ७२ वर्षे इतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघको नेतृत्व पहिलोपटक महिलाको हातमा पुगेको छ।
गौतमले अध्यक्ष पदका प्रतिस्पर्धी अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछि पारिन्। पोखरेलले ६ सय ३७, बुद्धाचार्यले ६ सय १ र आचार्यले २ सय ५३ मत प्राप्त गरे।

गौतमको विजयसँगै पोखरा उद्योग वाणिज्य संघले पहिलो महिला अध्यक्ष पाएको हो। यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्ष पदका लागि प्रयास गरे पनि सफल हुन सकेका थिएनन्।
संघको सदस्य हुँदै महासचिवको जिम्मेवारी सम्हालेकी गौतमले लामो संस्थागत यात्रापछि अध्यक्षको नेतृत्व हासिल गरेकी हुन्। उनको व्यावसायिक यात्रा भने २६ वर्षअघि संघकै कार्यालयअगाडि सञ्चालन गरेको सानो चिया पसलबाट सुरु भएको थियो। पछि उनले महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सञ्चालन गर्दै आफ्नो व्यवसायिक पहिचान स्थापित गरेकी थिइन्।
संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला निर्वाचित भएका छन्। उनले १ हजार ४ सय ८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी टिकाराम सुवेदीले ७ सय ६० मत पाए।
महासचिवमा सुदीप प्रधानाङ्ग १ हजार २ सय २ मतसहित विजयी भए। तारानाथ ढुंगानाले १ हजार ४२ मत प्राप्त गरे।
उद्योगतर्फको उपाध्यक्षमा सौगात थापा १ हजार २ सय ७१ मतसहित विजयी हुँदा ललितबहादुर कुँवरले ९ सय ७३ मत पाए। वाणिज्यतर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ १ हजार ६५ मतसहित निर्वाचित भए भने भीम गौतमले ९ सय १९ मत प्राप्त गरे।
कोषाध्यक्षमा देवेन्द्र प्रजु १ हजार ४ सय ३९ मतसहित विजयी हुँदा जीवनप्रकाश श्रेष्ठले ७ सय ७७ मत पाए।
उपमहासचिवमा प्रदीप राजभण्डारी १ हजार १ सय ५३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी यादवप्रसाद पोखरेलले ६ सय ५८ र रामचन्द्र तिमिल्सिनाले ४ सय ३३ मत प्राप्त गरे।
खुला सदस्यतर्फ १० पदका लागि १३ जनाबीच प्रतिस्पर्धा भएको थियो। सर्वाधिक मत ल्याउनेमा दुर्गा बराल रहे। उनले १ हजार ७ सय ४८ मत प्राप्त गरे।
निर्वाचित अन्य सदस्यमा अमृत पोखरेलले १ हजार ७ सय ३१, निर्मला चापागाईंले १ हजार ५ सय ८०, गोविन्दबहादुर केसीले १ हजार ४ सय ८७, रामेश्वर अधिकारीले १ हजार ४ सय ७७, मनोहरी पौडेलले १ हजार ४ सय ७६, भानुभक्त अधिकारीले १ हजार ४ सय ७६, दिलीपकुमार श्रेष्ठले १ हजार ४ सय ४७, रामप्रसाद कँडेलले १ हजार ४ सय ३५ र कमलबहादुर सुनारले १ हजार ४ सय २४ मत प्राप्त गरे।
निर्वाचनमा नबिन नापीत र हरिप्रसाद अधिकारीले समान १ हजार ३ सय ४३ मत तथा सूर्यराज घिमिरेले १ हजार ३ सय ३ मत प्राप्त गरेका छन्।








