आगोले जलाएको सपना फेरि उठाउँदै सौगात थापा, एक वर्षमै व्यवसायी नेतृत्वको जिम्मेवारी

पोखरा । एक वर्षअघि आगलागीमा व्यवसाय र बाल्यकालसँग जोडिएका सम्झना गुमाएका सौगात थापा अहिले त्यही पीडालाई शक्तिमा बदल्दै व्यवसायीको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका छन्।
सोमबार सम्पन्न पोखरा उद्योग वाणिज्य संघको ३६औँ अधिवेशनबाट उद्योगतर्फको उपाध्यक्षमा निर्वाचित भएका थापाले जेन–जी आन्दोलनका क्रममा भएको आगजनीको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक सन्देश सार्वजनिक गरेका हुन्।
थापा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेशका पूर्वमन्त्री बिन्दुकुमार थापाका छोरा समेत हुन्।
एक वर्षअघिको घटनालाई सम्झिँदै थापाले आगोले आफ्नो व्यवसाय मात्रै नजलाएको, वर्षौंको मेहनत, सपना र बाल्यकालसँग जोडिएका थुप्रै सम्झनासमेत खरानी बनाएको उल्लेख गरेका छन्।
‘एक वर्षअघि आजकै समय सम्झिँदा अझै पनि मन भारी हुन्छ,’ उनले लेखेका छन्, ‘आगोले मेरो व्यवसाय मात्र जलाएन, वर्षौंको मेहनत, सपना र बाल्यकालसँग जोडिएका धेरै सम्झनाहरू पनि खरानी बनायो।’
तर त्यो पीडाले आफूलाई रोक्न नसकेको उनको भनाइ छ। कठिन परिस्थितिमा पनि हार नमान्ने निर्णय गर्दै व्यवसायलाई पुनः उभ्याएको उनले बताएका छन्।
‘ढलेपछि उठ्नु नै वास्तविक जित हो,’ थापाले भनेका छन्।
आफूसँग जोडिएका कर्मचारी, परिवार तथा शुभेच्छुकहरूको विश्वासलाई बीचमै छाडेर बस्न नसक्ने भएकाले आफूले पुनः व्यवसाय उठाउने अठोट गरेको उनले बताएका छन्।
रोचक संयोग के छ भने, एक वर्षअघि आगोले व्यवसाय खरानी बनाएको दिनको सम्झना गरिरहेका थापा ठीक एक वर्षपछि व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाको नेतृत्वमा पुगेका छन्।
यसलाई उनले आफ्नो जीवनको नयाँ सुरुवातका रूपमा लिएका छन्।
‘एक वर्षअघि म खरानीबीच उभिएको थिएँ, आज त्यही खरानीबाट उठेर व्यवसायीहरूको नेतृत्व गर्ने ठाउँमा पुगेको छु,’ उनले लेखेका छन्, ‘सायद समयले मलाई यही सिकाउन खोजेको थियो—परिस्थितिले हामीलाई तोड्न सक्छ, तर फेरि उठ्ने साहस हामी आफैँमा हुन्छ।’
नवनिर्वाचित उद्योग उपाध्यक्ष थापाले अब विगतको पीडालाई शक्तिमा बदल्दै व्यवसायीको हित, रोजगारी सिर्जना र पोखराको आर्थिक समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले आफ्नो निर्वाचित यात्रालाई केवल पद प्राप्तिका रूपमा नभई कठिन समयपछि प्राप्त भएको विश्वास, जिम्मेवारी र नयाँ सुरुवातका रूपमा व्याख्या गरेका छन्।
‘अब विगतको पीडालाई शक्तिमा बदल्दै, व्यवसायीको हित, रोजगारी सिर्जना र पोखराको आर्थिक समृद्धिका लागि इमानदारीका साथ काम गर्ने मेरो संकल्प हो,’ उनले भनेका छन्।
आफूलाई मतदान गरेर निर्वाचित गराउने पोखरेली उद्योगी–व्यवसायीप्रति आभार व्यक्त गर्दै थापाले आगामी दिनमा नेतृत्व र कर्मको यात्रालाई अझ सशक्त बनाउने बताएका छन्।
‘खरानीबाट उठेको यो यात्रा अब नेतृत्व र कर्मको यात्रामा अघि बढ्नेछ,’ उनले फेसबुकमा लेखेका छन्।
व्यवसायमा आएको ठूलो क्षतिपछि पुनः उभिँदै संघको उद्योग उपाध्यक्षमा निर्वाचित भएको थापाको यो यात्रा अहिले पोखराको व्यवसायिक वृत्तमा संघर्ष, पुनरुत्थान र नेतृत्वको प्रतीकका रूपमाहेरिएको छ।







